स्वास्थ्य

नेपालमा आजदखि कोरोनाविरुद्धको खोप अभियान शुरू हुँदै

काठमाडाैं । नेपालमा आजदखि कोरोनाविरुद्धको खोप अभियान शुरू हुँदैछ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।

काठमाडौं उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइनेछ । पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउँदै छन् ।

शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सफाइकर्मी गरी २६४ जनाले बुधबार खोप लगाउँदै छन् ।

यही अस्पतालमा रहने खोप केन्द्रमा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका स्वास्थ्यकर्मी, काठमाडौं अस्पताल, ब्लुक्रस, राजधानी अस्पतालका २ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई पनि खोप दिइनेछ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलो दिन नै ३ सय जना स्वास्थ्यकर्मीले खोप लगाउने भएका छन् । यहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला नेत्र अध्ययन केन्द्रका ३ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीले पनि खोप लगाउने छन् ।

कान्ति बाल अस्पताल, चिरायु अस्पताल र ईशान बाल अस्पतालका स्वास्थ्यकर्मीले पनि टिचिङ अस्पतालमै खोप लगाउने गरी केन्द्र निर्धारण गरिएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ५ सयभन्दा बढीले खोप लगाउँदै छन् । पहिलो चरणमा कुल ४ लाख ३० हजारलाई खोप दिने तयारी छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख तारानाथ पोखरेलले खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत