कृषि

५०२ परिवारलाई लालपुर्जा वितरण

बर्दिवास । ५०२ परिवारलाई लालपुर्जा वितरण गरिएको छ । महोत्तरीमा चार पुस्तापछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन् । जिल्ला नापी कार्यालय महोत्तरीले बल्वा नगरपालिका–६ का पाँच सय दुई परिवारलाई लालपुर्जा वितरण गरिएको हो । लालपुर्जा पाएपछि उनीहरु दंग छन् ।

नापी, मालपोत र बल्वा नगरपालिकाले विभिन्न सरोकारवाला निकायको उपस्थितिमा उनीहरुलाई लालपुर्जा प्रदान गरेका हुन् । लालपुर्जा हातमा परेपछि स्थानीयहरु धेरै खुशी भएका छन् । उनीहरुले खुशी व्यक्त गर्नुका साथै अब छोरा नातीको पालामा सजिलो हुने भयो । अबदेखि जग्गा आफ्नै भयो भनी लालपुर्जा वितरण गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

लालपुर्जा हातमा परेपछि सबैको अनुहारमा चमक देखिन्थ्यो । ‘जग्गा भए पनि लालपुर्जा नहुँदा चिन्ता थियो, कसैले लग्ने पो हो कि भन्ने डर थियो,’ अब आफ्नै जग्गा भएको छ ।’ स्थानीहरु बताउँछन् । 

२०७० मै जग्गा नापी भएको थियो । तर, लालपुर्जा पाउन सकेका थिएनन् । वर्षौँदेखि भोगचलन गर्दै आएका परिवारलाई लालपुर्जा वितरण गर्न थालिएको बल्वा नगरपालिका मेयर विनोद यादवले बताएका छन् । मेयर यादवले वास्तविक जग्गाधनीले लालपुर्जा पाउनेमा विश्वस्त रहन आग्रह गर्दै सार्वजनिक र सामुदायिक जग्गाको संरक्षण गर्न नापी, मालपोत तथा नगरपालिकासमेत प्रतिबद्ध रहेको बताए ।

नापी कार्यालय महोत्तरीका प्रमुख राकेशकुमार झाले आफू महोत्तरी आएको एक महिनाभित्रै लालपुर्जा वितरण गर्न सुरु गरेको बताएका छन् । उनले यसअघि गौशाला नगरपालिका बासिन्दालाई लालपुर्जा वितरण गरेको र अहिले बल्वामा वितरण भइरहेको जानकारी दिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत