समाज

घरबाट भागेका देवर भाउजूको मृत्यु

महेन्द्रनगर । घरबाट भागेर हिँडेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको मृत्यु भएको छ । उनीहरुको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको हो । २ दिनअघि घरबाट हिँडेका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजू लिएर शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।

महेन्द्रनगरको बसपार्कस्थित पोखरा होटेल एन्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले आँकलन गरेको जनाएको छ । 

भाउजूको शनिबार बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो,’’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने,, ‘‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।’’ देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन ।

‘‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिइन्, खाँदा बिरामी परेँ भन्थे,’’ थापाले भने, ‘‘उनीहरु होटेल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।’’ 

दुवैको शव महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत