गाउँ सहर

आजदेखि शहीद सप्ताह मनाइँदैछ

काठमाडाैं । आजदेखि शहीद सप्ताह मनाइँदैछ । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा सहीद सप्ताह मनाइँदैछ ।

सप्ताहको आज पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरिँदै छ ।

यस्तै १३ गते बिहान आठ बजे सिफलमा रहेको धर्मभक्त माथेमा फाँसी दिइएको ठाउँ र १५ गते बिहान आठ बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानिएको शोभा भगवतीमा श्रद्धाञ्जलीसभा गरिने काठमाडाैं महानगरपालिकाले जनाएको छ । 

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । 

लैनचौरमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सहभागी हुनुहुने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । २०१२ सालदेखि काठमाण्डौ नगरको संयोजकत्वमा शहीद सप्ताह अन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।

प्रजातन्त्रको माग गर्दा तत्कालिन राणा शासकले १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडाैंको टेकुमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत