कला

राजनीतिक दलहरुप्रति करिश्माको आक्रोश 

काठमाडौँ  । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरले सडक संघर्षमा आउने राजनीतिक दलहरुप्रति आक्रोश पोखेकी छिन् । उनले कोरोना महामारीका बेलामा जनता मर्कामा परेको समयमा दलका नेताहरु सडकमा नआएको र अहिले आफ्नो स्वार्थका लागि आएको भन्दै आक्रोश पोखेकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै करिश्माले ‘जनता मर्कामा पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैलाई मर्का परेपछि सडकमा आउने ।’ उनले भिडभाड बढाएर भाषण गर्ने दल र नेतालाई आफूले राम्रो काम गरिरहेको भन्न नसक्ने बताएकी छन् ।

कोरोना महामारीका बेलामा नेताहरु कुर्सी र पार्टीको झगडामा अलमलिएको विषय समेत उनले उठान गरेकी छन् । उनले नेताहरुको समेत चर्को आलोचना गरेकी छन् ।

करिश्माले लेखेकी छन्ः

के मैले स्वतन्त्र नागरिकको हैशियतमा मेरा कुरा राख्नै नपाउने हो त ?

अहिलेको राजनीतिले मलाई मात्रै होईन, सबैलाई आजित बनाएको छ । शिक्षा, स्वास्थ, सिनेमा, उद्योग, कृषि कुनै पनि क्षेत्र सन्तोषजनक छैन ।

कोरोना महामारीले गर्दा देश झण्डै ८ महिना जति ठप्प भयो । अहिले बल्ल बल्ल अर्थतन्त्र चलायमान हुँदैछ ।

वितेको १० महिनामा भोकभोकै पैदल घर हिँडेका नेपालीबारे समाचार पढ्यौँ । उद्योगी व्यापारीहरु तनावमा फसेको, विरामीहरु उपचार नपाएर मरेको, नेपाली कृषकको उत्पादनहरुले बजार नपाउने तर विदेशबाट सबै थोक सजिलै आयात भएर बजार बजार पुग्ने, उखु किसानले उखुको मूल्य नपाउने तर राजनीतिक दलहरु जुँगाको लडाइँमा मात्रै रमाउने गरेको विकृति देखियो ।

सरकारको पहिलो प्राथमिकता जनताको सुखसुविधा हुनुपर्ने थियो तर हाम्रो देशमा कुर्सी र पार्टी पार्टी नेता नेता बिचको झगडा पहिलो प्राथमिकता बनेको थियो
त्यहिबिचमा संसद विघटन भयो । संसद विघटन हुने बितिक्कै सबै राजनीतिक दल सडकमा देखिए । कोरोना महामारी पनि विलाएको हो कि ?

जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैँलाई मर्का परेपछि सडकमा आउने, भिडभाड बढाएर भाषण गर्ने दल र नेतालाई म कसरी राम्रो काम गरिरहेका छौ भनेर भनुँ ?

राजनीतिक दलहरुको कार्यशैली, व्यवहार र चिन्तन जनपक्षीय छ भनेर कसरी झुट बोलुँ ?

कोरोना महामारी बिच जनताले विभिन्न प्रकारका समस्या भोगेको बेला यिनै राजनीतिक दल यसरी नै सडकमा आई दिएको भए के हुन्थ्यो ? कसले रोक्यो त्यतिखेर उनीहरुलाई ?

यी विषयमा मलाई चुप लागेर बस्नु उपयुक्त नलागेर स्टाटस लेखेँ । संविधानले मलाई दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेँ ।

गाउँ सहर डेस्क

तपाईँको मत