राजनीति

संवैधानिक र कानूनी विधिमार्फत राजनैतिक स्थायित्व कायम गर्ने अवसर सर्वाेच्चकाे काँधमा : लाेहनी

सिराहा । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लाेहनीले वर्तमान राजनीतिक अन्योलबाट संवैधानिक र कानूनी विधिमार्फत राजनैतिक रुपमा स्थायित्व कायम गर्ने ऐतिहासिक अवसर सर्वाेच्च अदालतकाे काँधमा आएको बताएका छन् ।

मुलुकलाई अध्यारो दिशातर्फ धकेल्न संविधानमा कतै नभएको धारा प्रयोग गरि प्रधानमन्त्री ओलीले राजनैतिक संकट निम्त्याएकाे बताए ।

सिरहामा पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै लोहनीले ओलीको अधिनायकवादी चिन्तनलाई तत्काल नियन्त्रण गर्नुपर्ने आवश्कता रहेको बताए ।

ओलीको कारण उत्पन्न दलहरुको अहिले एकअर्काप्रतिको नकारात्मक टिप्पणीलाई नेपाली जनताले अब नसहने पनि बताएका छन् ।

भ्रष्टाचार र राज्यको सम्पत्ति माथिको लुटले मुलुक अस्तव्यस्त भएको बताउँदै जनजीविकाको सबै प्रश्नहरु यतिबेला गौण भएको समेत बताए ।

मधेशी जनताको हक, अधिकार विभेदको अन्त्यको साथै राज्य व्यवस्थामा समावेशी र समानुपातिक प्रतिनिधित्वको लागि  राप्रपा प्रतिवद्ध रहेको समेत बताएका छन् ।

मुलुकलाई स्थायित्व दिन संविधान भित्रको राजसंस्था आजको आवश्यकता रहेको बताउदै राजसंस्था स्थापनार्थ राप्रपा आन्दोलित रहको समेत बताउनु भएको छ ।

सिराहा जिल्ला अध्यक्ष शम्भु यादवको सभापतित्वमा सम्पन्न भेलालाई राप्रपा केन्द्रीय नेताहरु महेशलाल महासेठ, रामप्रताप शाह, रामचन्द्र राय, श्याम तिमिल्सिना, कृष्णप्रताप मल्ल, जनकराज पाठक, राजु लोहनी, शत्रुधन महासेठ लगायत केन्द्रीय  नेताहरुले सम्बाेधन गरेका थिए ।

सभाअघि जुलुसले नाराबाजी गर्दै नगर परिक्रमा समेत गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत