अर्थतन्त्र

चन्द्रागिरीको आईपीओ शुक्रबार बाँडफाँड हुने, १० लाख ७१ हजार ५१३ जनाको हात खाली

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आईपीओ) को बाँडफाँड शुक्रबार हुने भएको छ ।

कम्पनीको शेयरमा उच्च आवेदन परेको कारण यस कम्पनीको शेयरमा आवेदन दिएका योग्य आवेदनकमध्ये नै १० लाख ७१ हजार ५१३ जनाले शेयर नपाउने भएका हुन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ ।

यसअनुसार कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको १३ लाख ९६ हजार २२ कित्ताका आधारमा १ लाख ३९ हजार ६०२ जना आवेदकले मात्र शेयर पाउनेछन् ।

निर्देशिका बमोजिम बाँडफाँड गर्दा १ लाख ३९ हजार ६०२ जना आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् । यसी बाँडफाँड गर्दा निष्काशन गरिएको २ कित्ता शेयर बाँकी रहनेछ । उक्त शेयर गोलाप्रथाबाट १० कित्ता शेयर पाएका ९१ लाख ३९ हजार ६०२ जना० मध्येबाट २ जनालाई गोलाप्रथा गरी थप १।१ कित्ता शेयर वितरण हुनेछ । यसअनुसार भाइमानी २ जनाले ११ कित्ता शेयर पाउनेछन् भने १ लाख ३९ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ता हात पार्नेछन् । योग्य १२ लाख ११ हजार ११५ जनामध्ये १० लाख ७१ हजार ५१३ जनाको हात खाली रहनेछ ।

शेयर बाँडफाँडका लागि बुधबार सम्पन्न प्रि अलोटमेण्टमा गरेको छ । पुस २८ गते अन्तिम दिनसम्ममा १२ लाख ५१ हजार १० जनाले आईपीओमा आवेदन गरेको मध्येबाट सदर आवेदकको संख्या ३९ हजार ८९५ ले घटेर १२ लाख ११ हजार ११५ कायम भएको कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

बिक्री प्रबन्धकका अनुसार चन्दागिरीको आईपीओमा २ करोड २८ लाख २० हजार २१० कित्ता शेयरका लागि २ अर्ब २८ करोड २० लाख २१ हजार बराबरको आवेदन परेको छ । कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गतेसम्म आवेदन खुला गरेको थियो ।

कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिने व्यवस्था थियो । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत