गाउँ सहर

वरिष्ठ लोक गायक रत्न बानियाँको निधन

काठमाडौँ । वरिष्ठ लोक गायक रत्न बानियाँको मंगलबार ५५ वर्षको उमेरमा निधन भएको छ । दुवै मृगौला फेल भएका कारण लामो समयदेखि बिरामी बानियाँको उपचारको क्रममा आज बिहान ३ बजे ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्याङजा फेदीखोला २ जोगीस्थानमा स्वर्गिय पूर्ण बहादुर बानियाँ र आमा मुवा बानियाँको कोखबाट २०२२ साल असोज ११ गते तेस्रो शन्तानको रुपमा जन्मिएका बानियाँ हाल श्रीमती जुना बानियाँ सहित २ छोरा संगित बिनम्र छोरी झरना र बुहारी अनुसाका साथमा बालाजुमा बस्दै आएका थिए ।

ग्रामीण जनजीवनलाई लोकलयमा ढालेर जीवन्त रुपमा उतार्ने लोकसंगीतका सर्जक बानियाँको करिब दुई वर्षअघि मिर्गौला फेल भएको थियो । पारिवारिक श्रोतका अनुसार सुगर तथा ब्लड प्रेसरका समेत बिरामी रहेका उनको ओममा नै उपचारको क्रममा निधन भएको हो ।सुरुमा राष्ट्र सेवक नेपाल प्रहरी मार्फत सेवामा शर्पित बानियाँ गीत संगीतमा अब्बल ज्ञानका कारण नेपाल प्रहरी जागिर छोडेर झरना संगित मार्फत सयौ गिती क्यासेट बजारमा ल्याई सयौं कलाकार निर्माण गरेका थिए भने रेडियो नेपालमा २०४४ सालमा स्वर परिक्षामा पास भएका थिए ।

तीन दशकभन्दा लामो समयसम्म लोकसंगीतमा बिताएका बानियाँले गाउँबेसी, लाहुरेका कथा तथा लोकभाकाहरुलाई आफ्नो संगीत सिर्जनामामा ढालेका छन् । जिन्दगी के छ र, लडाइको लाउरे भाग ५ सम्म , घर छोडेर जाने बेलामा, रोई बाँच्नुभन्दा, छैन ठेगाना, छैन जानु कहीँ, पानमा सुपारी, बिन्ती छ निष्ठुरी, हरियो बेलपत्र,जस्ता उनका गीतहरुमा लाहुरे जीन्दगीका कथा, पारिवारिक विछोड तथा जीवन भोगाइका मर्मस्पर्शी भोगाइहरु समावेश भएका छन् ।बानियाँको निधनले लोकसंगीतले एक अभिभावक तथा मूर्धन्य व्यक्तित्व गुमाएको छ । बानियाँको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक स्रोतले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत