स्वास्थ्य

भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दियाे, कसले पाउँछ पहिले लगाउन ?

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए ।

अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

कोभिड–१९ विरुद्धको खोपको पहिलो सूचीमा सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत् स्वास्थ्यकर्मी, प्रशासनिक तथा सरसफाइमा खटिएका कर्मचारी र स्वास्थ्य सेवाका लागि फिल्डमा खटिने कर्मचारीलाई राखिएको छ ।

खोपको दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका दीर्घरोगी एवम् नागरिक छन् । 

४० देखि ५४ वर्षसम्मका दीर्घरोगी नागरिकलाई तेस्रो प्राथमिकतामा राखिएको छ । खोप दिइने वर्गको प्राथमिकतामा बाहिरबाट आएर नेपालमा काम गरिरहेका श्रमिकलाई समेत राखिएको छ । उनीहरुलाई श्रमिकलाई चौथो चरणमा खोप दिइनेछ । 

त्यसैगरि खोपको प्राथमिकतामा यी नागरिक पाँचौँ नम्बरमा छन् भने अन्तिम चरणमा खोप पाउनेमा युवा वर्ग छन् । १५ देखि ३९ वर्ष उमेर समूहका नागरिकलाई अन्तिम चरणमा खोप दिने सरकारको तयारी छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत