राजनीति

राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने - डा. लाेहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् ।

‘देश र जनतालाई एकताको सुत्रमा बाँध्न राजसंस्था आवश्यक भएको छ । शासन जनताले गर्ने, बेलायत, क्यानाडा, नर्वेमा जस्तो अभिभावकको रुपमा रहने राजसंस्था व्यवस्था चाहिएको  छ । राजा र जनताको एकतामा नै देश बलियो हुने हो, प्रजातन्त्र सुढृद हुने हो,’ राप्रपाका अध्यक्ष लोहनीले मोरंग जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै भने ।

भागभण्डाका कारण प्रशासनयन्त्रमा आठपरिया प्रवृत्ति चलीरहेको भन्दै अध्यक्ष लोहनीले चिन्ता व्यक्त गरे । ‘एक वर्षमा तीन–तीन पटक सचिव सरुवा गरिन्छ, यो कस्तो व्यवस्था हो, कस्तो प्रजातन्त्र हो,’ उनले भने ।

राप्रपाका नेता रामचन्द्र रायले नेकपाको घरझगडाले देश अस्थितर बनेको, संंवैधानिक संकट खडा भएको बताए । नेता श्याम तिमल्सिनाले राप्रपा विकल्प दिन एक भएको र त्यसै अनुरुप देश र जनताको हितमा विकल्प दिने बताए ।

राप्रपाका नेता सगुनसुन्दर लावतीले राजसंस्था, सनातन हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्छ भन्ने युवाहरुको माग बमोजिम देश अघि बढ्न आवश्यक रहेको बताए । नेता जनकराज पाठकले परिवर्तनले जनचाहना सम्बोधन नगरेको भन्दै नयाँ विकल्प प्रस्तुत गर्नु पर्ने बताए । 

विभिन्न दल परित्याग गरी राप्रपामा प्रवेश गर्ने ३७ जनालाई अध्यक्ष लोहनीले स्वागत गरेका थिए । कार्यक्रममा विश्वमोहन थापा, राजु लोहनी, दिनेश साह, आरती गेलाल, दुर्गाबहादुर अधिकारी, माधव आचार्यले मन्तव्य प्रस्तुत गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत