राजनीति

पार्टीका सबै सङ्गठन र कमिटीहरु तत्काल पुनः गठन गर्न ओलीकाे निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे ।  

प्रधानमन्त्री ओलीले भने, 'प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।' अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन  गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे । 

कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गरे। उनले भने, 'हामी हिंसामा विश्वास गर्दनौं, जनतामा विश्वास गर्छौँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन ।' कार्यक्रममा नेकपा नुवाकोटका नेता केशवराज पाण्डेले जिल्लामा यही माघ १९ गते जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत