अर्थतन्त्र

अम्रिसोको मूल्य बढेसँगै किसान खुशी

इलाम। विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो (अम्रिसो) को मूल्य बढेपछि किसान खुशी देखिएका छन् । उनीहरु अहिले अम्रिसो थुतेर बजारसम्म पु-याउन थालेका हुन् । मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कुचोको ठूलो परिमाणम भारत जान्छ ।

नेपाली उत्पादन भए पनि भारतीय व्यवसायीले राखेको मूल्यमा नेपाली व्यवसायी चल्नुपर्छ । मूल्य अस्थिर हुनाले किसानले अधिकतम मूल्य पाउनकै लागि अहिले नै बजार पु-याउन थालेका हुन् । वस्तुको मूल्य किसानको हातमा नरहेकाले कृषिजन्य उत्पादनको मूल्यमा उतारचढाव हुने गरेको छ । गत वर्ष प्रतिकिलो रु ९० को हाराहारी मूल्य रहेकामा यस वर्ष प्रतिकिलो रु १४० मा किनबेच भइरहेको छ । यसै वर्षको मूल्य पनि एकरुपता छैन ।

शुरुमा रु १०० रहेकामा विस्तारै बढेर रु १४० पुगेको हो । कुचोको मूल्य स्थिर नभए पनि यस वर्ष विगतमा जस्तो अत्यन्तै कम हुने सम्भावना नरहेको देउमाई नगरपालिकाका व्यवसायी मात्रिका घिमिरेले बताएका छन् । यस वर्ष उत्पादन कम भएकाले भारतबाट चर्को माग आइरहेको छ ।

नेपालबाट जाने कुचोको ठूलो परिमाण भारतमै खपत हुन्छ । यसैले पनि यस वर्ष कुचोको माग बढी रहेकाले मूल्य अझै बढ्न सक्ने उनको अनुमान छ । कुचोको प्रयोग घर बढार्नका लागि मात्र भए पनि अनिवार्य वस्तुमा पर्छ । ग्रामीण भेगमा घाँसको रूपमा प्रयोग हुने अम्रिसोको फल नै कुचो हो । देशभित्र पनि कुचोको खपत हुन्छ । तर उल्लेखीय मूल्य पाउने आसमा किसानले बाहिर निकासी गर्ने व्यवसायीलाई कुचो बेच्ने गरेका छन् । यहाँका किसानले पुसको मध्यमबाट माघ अन्तिमसम्ममा अम्रिसो थुत्ने गर्दछन् । यसपछि सुकेपछि बेच्ने गर्दछन् ।

कतिपय किसानले पुरानो कुचो बेच्ने गरेकाले पनि मूल्य कम हुने गरेको व्यवसायी घिमिरेको भनाइ छ । “कुचो जुन सालको हो । त्यही साल नै बेचिसक्नुपर्छ । अर्को साल पर्खियो भने गुणस्तरहीन हुन्छ”, उनले भने । मूल्य नआएका बेला किसानले नबिकेको कुचो अर्को साल बेच्ने गर्दछन् ।

यसैले पनि गुणस्तरीय वस्तु नआएको भन्दै भारतले कुचोको मूल्य कम मात्र दिने गरेको छ । यस वर्ष भने भाउ उल्लेखीय आएकाले किसानसमेत बेच्न कसिएका छन् । कुचोको मूल्य उल्लेखीय आएकाले माइजोगमाई गाउँपालिकास्थित सोयाङका सुमन बेघाले यस वर्ष बगानको सबै अम्रिसो थुतेर बेच्न शुरु गरेको जानकारी दिएका छन् । मूल्य घटबढ भइरहने हुनाले तत्काल बेच्नका लागि मेघाले यस वर्ष कुचो बेच्न हतार गरिरहेका छन् । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुनको साथै यसको हेरचाह गर्न खासै मेहेनत गर्नु नपर्ने भएकाले पनि किसानले अम्रिसो खेती गर्छन् । गाई भैँसीको लागि मुख्य घाँसको रुपमा किसानले अम्रिसो खेती गर्ने गरेको पाइन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत