स्वास्थ्य

गरिब देशलाई खोप उपलब्ध नगराए महामारी लम्बिने डब्लुएचओको चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप वितरणमा असमान रणनीतिका कारण विश्व ‘गम्भीर नैतिक असफलता’ तर्फ अघि बढेको चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका धनी देशका युवा तथा स्वस्थ व्यक्तिले खोप पाउँदा गरिब देशका जोखिमयुक्त व्यक्ति खोप बिहीन हुनु न्यायीक नभएको बताएका छन् ।

अहिलेसम्म विश्वका धनी ४९ देशले तीन करोड ९० लाख डोज पाउँदा एक गरिक देशले २५ डोज मात्रै पाएको डब्लुएचओका प्रमुख डा.टेडरोजले बताए।

कोरोना भाइरसविरुद्धको प्रयासलाई लिएर डब्लुएचओ र चीनको आलोचना हुँदै आएको छ।

डब्लुएचओले बनाएको स्वतन्त्र प्यानलले कोरोना भाइरसको महामारी चाँडै नै घोषणा गरिएको भए अवस्था केही सुधार हुने बताएको थियो।

अहिलेसम्म अमेरिका, बेलायत, चीन, भारत र रुसले कोरोना भाइरसविरुद्धको खोप बनाएका छन् । यस्तै फाइजरको खोप पनि तयार भएको छ ।

सबै खोप निर्माता तथा विकसित देशहरुले आफ्ना नागरिकलाई खोप लगाउनु पहिलो प्राथमिकतामा राखेका छन् ।

डा.टेडरोजले सोमबार डब्लुएचओको कार्यकारी बोर्डको बैठकमा भने, ‘विश्व गम्भीर नैतिक असफलताको किनारमा छ र यो असफलताको मूल्य विश्वका गरिब देशहरुले जीवन र जीविका मार्फत चुकाउनु पर्ने छ ।’

‘म पहिलो’ भन्ने रणनीतिले बाधा उत्पन्न गर्ने उनले बताएका छन् । यस्तो कार्यले महामारीलाई लम्ब्याउन सहयोग गर्ने चेतावनी उनले दिएका छन्।

 खोपमा विश्वव्यापी सहकार्यका लागि पूर्ण प्रतिबद्धताको खाँचो रहेको उनले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत