विश्व

सुडान आक्रमणमा ४८ जनाको मृत्यु, ९७ जना घाइते

एजेन्सी । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ जनाको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले जानकारी गराएको छ ।

उक्त आक्रमणमा कम्तीमा ९७ जना घाइते भएको  उपचारमा सम्लग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी एजेन्सीले जनाएको छ ।

“शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याङ्क अनुसार ४८ जना मारिएका र ९७ जना घाइते भएका छन् ।” सुना न्यूजले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गरी लेखेको छ ।

सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले जनाएको छ ।

यसै बीच सुडानको मन्त्रिपरिषद्ले एल जेनिनालाई अवस्थाको मूल्याङ्कन गरी अवस्थालाई शान्त बनाउन तथा राज्यमा शान्ति र स्थायित्व कायम गर्न तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको जनाएको छ ।

महान्यायाधिवक्ता ताज अल–सर अली अल–हेब्रोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सुरक्षा, सैन्य र न्यायिक निकायका प्रतिनिधिहरू सामेल गरिएको छ ।

यसैबीच, पश्चिम डार्फरमा शनिबार घटना चलिरहेका समय स्थानीय अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरेका छन् ।

पश्चिम डार्फर राज्यका गभर्नर मोहम्मद अब्दल्ला अल डोमाले एल जेनिनामा दुई नागरिकको बिचमा भएको लडाईबाट शुरू भएको हिंसा अन्त्य गर्न सेनालाई दिएको आदेशपछि अवस्था थप जटिल भएको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत