अर्थतन्त्र

कसरी गयाे संघीय सरकार घाटामा ? प्रदेश सरकारको स्रोत प्राप्ति रु.६१ अर्ब २७ करोड

काठमाडाैँ । संघीय सरकार घाटामा रहेकाे छ । वर्तमान तथ्यांकले यहि बताउँछ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्याङ्कमा आधारित) तथ्यांक अनुसार संघीय सरकार वित्त घाटा/बचत आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.१२ अर्ब ७२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.६२ अर्ब २३ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेक बाहेक) संघीय सरकारको कुल खर्च रु.३०६ अर्ब ६६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.२८७ अर्ब ८४ करोड रहेको राष्ट्र बैंकले बताएकाे छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) रु.३०१ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन रु.३३७ अर्ब ७१ करोड रहेको थियो । 

२०७७ मंसिरमसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२४५ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको बैंकले बतायाे । 

यस्तै राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति रु.६१ अर्ब २७ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी रु.३७ अर्ब ४३ करोड हस्तान्तरण गरेको छ । यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट रु.२३ अर्ब ८४ करोड परिचालन गरेका छन् । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च रु ३२ अर्ब १७ करोड रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत