पत्र-पत्रिकाबाट

सहकारी बोर्डमा नेताका सिफारिसमा गैरकानुनी रूपमा कर्मचारी भर्ना 

काठमाडाैं । राष्ट्रिय सहकारी विकास बोर्डले गैरकानुनी रूपमा फेरि करारमा कर्मचारी भर्ना गरेको छ । बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले नियमविपरीत १२ कर्मचारीलाई ६ महिनाका लागि नियुक्त गरेका हुन् । 

नियमविपरीत करारमा कर्मचारी भर्ना गरिएको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरिरहेकै वेला २ माघदेखि लागू हुने गरी १२ जना नियुक्त गरिएको हो । तत्कालीन सहकारीमन्त्री पद्मा अर्यालको पालामा भर्ना गरिएका १९ जनाको पुस मसान्तमा करार अवधि सकिएको थियो । 

मन्त्री र नेताहरूको सिफारिस भएका केहीको फेरि करार थपिएको हो । तत्कालीन मन्त्री चक्रपाणि खनालको कार्यकालमा नियुक्त भएका र अहिले नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा लागेकाको म्याद थप नगरिएको स्रोतले जनाएको छ । 

सदस्यसचिव पराजुलीले विशाल शर्मा, मदन अर्याल, टीकाकुमारी लुइँटेल, गौरव आचार्य, मोहनकुमार पाण्डे र कृपा भण्डारीलाई फेरि अधिकृतस्तरमै नियुक्त गरेका छन् । त्यस्तै, सहायकस्तरका दीपक भण्डारी, कमल रिजाल, प्रत्यक्ष ढकाल, माधवप्रसाद श्रेष्ठ, किरण श्रेष्ठ र जमुना शर्माको पनि करार थपिएको छ । उनीहरू सबैलाई तत्कालीन सहकारीमन्त्री पद्मा अर्यालले नियुक्त गरेकी थिइन् । 

सरकारले यो वर्ष बोर्डलाई बजेटसमेत नदिएकाले कुनै कार्यक्रम छैन । तैपनि करारमा कर्मचारी भर्ना गर्ने क्रम रोकिएको छैन । नियमित पदपूर्ति नहुँदा बोर्डमा कार्यरत स्थायी कर्मचारीको करिअरमा समेत असर परेको छ । सदस्यसचिव पराजुलीले भने प्राविधिक कर्मचारी मात्र नियुक्त गरिएको दाबी गरे ।

बोर्डमा विगत ६ वर्षदेखि नियोजित रूपमा कर्मचारीको स्थायी पदपूर्ति रोकिएको छ । नयाँ कर्मचारी विनियम स्वीकृत नभएको बहानामा स्थायी पदपूर्ति प्रक्रिया रोकेर रिक्त पदहरूमा मन्त्री र पदाधिकारीहरूले कार्यकर्ता र आफन्त भर्ना गर्ने गरेका छन् । नयाँ पत्रिकामा नवराज मैनालीले याे समाचार लेखेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत