गाउँ सहर

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजको सुनुवाइ सकियाे, ‘पार्टीभित्रको असहयोग संसदमाथि पोख्न पाइँदैन’ : अधिवक्ता

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजको सुनुवाइ सकिएको छ । प्रतिनिधिसभा पुनर्स्थापना गर्न माग गरि दायर गरिएकाे सन्तोष भण्डारीले दिएको रिटमाथि संवैधानिक इजलासमा बहस भएको थियो । 

बहसमा सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिल पोखरेलले भाग लिएका थिए । उनीहरूले प्रतिनिधिसभाले प्रधानमन्त्री दिनसक्ने अवस्था रहेसम्म विघटन गर्न नपाउने भन्दै विघटन असंवैधानिक भएको जिकिर गरेका थिए । 

बहुमतको प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद् विघटनको अधिकार नदिएको उनीहरुको तर्क थियो ।

प्रधानमन्त्री संसद्‌मा नगएको र प्रतिनिधिसभाले प्रधानमन्त्रीलाई असहयोग पनि नगरेको अवस्था रहेकाले संसद् विघटन असंवैधानिक भएकाले पुनस्स्थापना हुनुपर्नेमा उनीहरूको जोड थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आइतबारको बहसमा आचार्यले बहुमतको प्रधानमन्त्रीले संसद् विघटनको ‘व’ पनि उच्चारण गर्न नमिल्ने बताएका छन् ।

संविधानमा दुई प्रकारले मात्रै संसद्को म्यादबारे बोलेको आचार्यको भनाइ थियो । उनले भने, 'संविधान बमोजिम २ किसिमले मात्रै संसद विघटन हुने व्यवस्था छ । धारा ८५ को नियमित प्रक्रिया र धारा ७६ को उपधारा ७ अनुसार ।'

अधिवक्ता सुनील पोखरेलले बहसका क्रममा भने, ‘पुष्पकमल दाहाल र माधवकुमार नेपालले असहयोग गरे भनेर उहाँले पटकपटक भन्नुभएको छ। पार्टीभित्र उहाँलाई भएको असहयोगको दोष निर्दोष संसदमाथि पोख्न पाइँदैन।’

भोलि फेरि सो मुद्दामा सुनुवाइ हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत