समाज

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या

बाँके । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या भएको छ । राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचकको हत्या भएको हो । 

२७ वर्षीय प्रवीण थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिएका छन् ।

गत शुक्रबार बिहान १० : १५ बजे नेपालगन्ज उपमहानगरपालिका १८ सूर्यगाउँमा स्थानीयले शव फेला पारेको थियो। मृतकको सुरूमा पहिचान खुलेको थिएन। 

अनुसन्धानको क्रममा सोही ठाउँका विभागमा कार्यरत प्रवीण थापा भन्ने खुलेको डिएसपी खड्काले बताएका छन् । 

खड्काका अनुसार प्रवीणको शव उनको घरभन्दा साढे २ किलोमिटर परको खेतमा फेला परेको थियो।

थापाको टाउकोमा धारिलो हतियारको चोट छ।  उनको पोष्टमार्टम गरी शव परिवारलाई बुझाइसकिइको छ ।

उनको टाउकोमा हतियारले हानेर हत्या गरिएको देखिन्छ। स्थानीयले खबर गरेपछि हाम्रो टोली खटियो,डिएसपी खड्काले भने, टाउकोमा लागेको चोटका कारण मृत्यु भएको रिपोर्टमा देखिएको छ।

 उनी एक वर्षदेखि विभागमा कार्यरत थिए । शव फेला परेको अघिल्लो साँझ नै हत्या गरी छाडिएको देखिन्छ, खड्काले भने। 

प्रहरीले घटनासम्बन्धी १०१२ जनासँग सोधपुछ गरे पनि कसैलाई पक्राउ नगरेको उनले बताए । हत्या हुनुको कारण खुल्न नसकेको डिएसपी खड्काले बताए। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत