निर्माण

पहिलोपटक आकासे पुल सञ्चालनमा

चितवन । चितवनमा पहिलोपटक आकासे पुल सञ्चालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टाँडीचोकमा निर्माण सम्पन्न गरिएको आकासे पुल जिल्लाकै पहिलो आकाशे पुल हो । रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको यो पुलको शनिबार रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका हुन् ।

बजारलाई आधुनिकीकरण र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नगरको गौरवको योजनाभित्र राखेर आकासे पुल निर्माण गरिएको वनले बताएका छन् । ‘राजमार्गमा तीव्र गतिमा हिँड्ने सवारीसाधन र मालवाहक सवारीलाई असर नपर्ने गरी अग्लो पुल निर्माण गरेका छौँ । पुलले सडक दुर्घटनामा कमी ल्याउनेछ भने सौराहा प्रवेशको मुखैमा रहेको यो पुल जिल्लाका लागि नयाँ आकर्षण बन्नेछ,’ उनले भने ।

पूर्व–पश्चिम आवतजावत गर्ने सवारीसाधनलाई सहज हुने गरी ४२.३ मिटर लम्बाइ, ५.३ मिटर उचाइ, तीन मिटर चौडाइको फलामे संरचनाबाट पुल निर्माण गरिएको नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिएका छन् । पुलको भुइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ ।

दुई करोड ३९ लाख ९२ हजार २७० रुपैयाँ लागतमा पुल निर्माण गरिएको गिरीले बताएका छन् । पुल निर्माणका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो । २ फागुन ०७६ मा पाँच महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का लगाइए पनि कोभिडका कारण पुस मसान्तसम्मका लागि पुल निर्माणको समय थप गरिएको जनाइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत