गाउँ सहर

नेपाल प्रहरीमा एसपी बढुवाको तयारी : १५ पदमा ३४ जना भिड्दै

काठमाडौँ । नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) लाई उपरिक्षक (एसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस २९ मा गृह मन्त्रालयले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको थियो । एसएसपी बढुवा सिफारिससँगै १५ वटा एसपीको पद खाली रहेको छ । पुस २९ मा प्रहरी उपरिक्षक राजेन्द्र विष्ट र रमेश थापाले अवकास पाएका छन् ।

०४७ माघमा प्रहरी सहायक निरिक्षक (असई) बाट सेवा प्रवेश गरेका विष्ट र थापाको अवकाससँगै खाली पदमा थप दुईजना बढुवा हुँदैछन् । बढुवा गर्नुपर्ने १५ जना एसपी पदमा ३४ जना डिएसपी प्रतिस्पर्धामा रहेका छन् । प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्ले, श्यामसिंह चौधरी, अमरेन्द्रबहादुर सिंह, सुवासचन्द्र बोहरा, दिलीप घिमिरे र वीरेन्द्र शाही एसपी बढुवाका प्रतिस्पर्धी हुन् ।

उनीहरु ०५८ मा इन्सपेक्टरबाट सेवा प्रवेश गरेका थिए । सो ब्याचका चक्रराज जोशी, अर्जुनप्रसाद तिमल्सिना, सरोज पौडेल, योगेन्द्रसिंह थापा, सुमन कुमार तिमिल्सिना, ऋषिराम कँडेल, भुवनेश्वर तिवारी र प्रजित केसी एसपीमा बढुवा हुने प्रतिस्पर्धामा रहेका छन् ।

बढुवाको प्रतिस्पर्धामा रहेका ३४ जना डिएसपी यसअघि दुई लटमा इस्पेक्टरबाट डिएसपीमा बढुवा भइसकेका छन् । पहिलोपटक ०६९ फागुन १३ मा र ०७० साउनमा दोस्रो पटक डिएसपीमा बढुवा भएका एउटै ब्याचका अधिकृतहरु प्रतिस्पर्धामा छन् ।

बढुवाका प्रतिस्पर्धी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी महेन्द्र श्रेष्ठ बिरुद्ध प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी परेको छ । उजुरी छानविन शाखाले उनीमाथि छानबिन गरिरहेको जनाएको छ ।

उत्कृष्ट कार्यसम्पादन भएका, भ्रष्टाचारमा नमुछिएका र विगतमा कारवाही नभोगेका अधिकृतलाई बढुवा गर्ने गरी तयारी थालिएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले बताएका छन् । 

शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि उनले सिनियारिटीलाई प्राथमिकता दिँदै आएका छन् । तर, विश्वराज पोखरेललाई उप–प्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा बरियता मिचेर एआईजीमा बढुवा गरिएको थियो । 

आईजिपी, गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाका सह–सचिव र प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही सदस्य–सचिव रहने बढुवा समितिले एसपी बढुवा सिफारिस गर्ने कानुनी प्रावधान रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत