अर्थतन्त्र

सिंगटी हाइड्रोपावरको आईपीओ खुल्यो

दोलखा । सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ ।  आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइबतारदेखि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । यसमा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

यो आइपीओ माघ १८ गतेसम्म भर्न सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा भने फागुन ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सिंगटीले परियोजना निर्माणका लागि निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ अनुमान गरेको छ । लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष अनुमान गरिएको छ । हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ । 

सेयर संकलन गर्न नेपाल बैंक लिमिटेड, सेन्चुरी कमर्सिएल बैंक, सिंगटीस्थित आयोजनाको कार्यालय र कालिञ्चोक गाउँपालिका–२, बाबरेमा संकलन केन्द्र राखिएको छ । प्रभावित क्षेत्रका लागि आह्वान गर्न लागिएको साधारण सेयर दोलखाको कालिञ्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूले मात्र आवेदन गर्न पाउनेछन् । कम्पनी सचिव  अधिकारीका अनुसार सर्वसाधारणका लागि २० प्रतिशत अर्थात् २९ लाख कित्ता सेयर पहिलो चरणमा बाँडफाँड गरेपछि खुला गरिनेछ । 

सिंगटी खोला जलविद्युत्को काम शतप्रतिशत पूरा भएको कम्पनीले जनाएको छ । तर, विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिंगटी लामोसाँघु प्रसारण लाइनको काम पूरा नभएकाले विद्युत् उत्पादन मिति धकेल्नुपरेको कम्पनीले जनाएको छ ।

अबको डेढ महिनामा प्रसारण लाइनको कुनै एक सर्किट पूरा हुने र त्यसलगत्तै विद्युत् उत्पादन गर्ने आयोजनाको तयारी छ । आयोजना निर्माणको काम पूरा हुँदासम्म प्रतिमेगावाट २२ करोडका दरले ५ अर्ब ५० करोड खर्च हुने आयोजनाले बताएकाे छ । 

गाउँ सहर डेस्क

तपाईँको मत