प्रेरणा

कुनैपनि कुरा बोलेको समय ध्यान दिनुहोस्, मुखबाट फुत्केको शब्द फिर्ता आउँदैन

काठमाडौँ । रिसाएको बेलामा बोलिएको शब्दले अर्कालाई दुःख पुर्याउँदछ । रिसको कारण हाम्रो सोच्ने र बुझ्ने शक्ति कमजोर हुन्छ । जसको कारण धेरै मानिसहरु रिसको सुरमा यस्ता शब्द बोल्दछन् जसको लागि पछि पछुताउनु शिवाय केहि हुँदैन । किनकी मुखबाट फुत्किएको शब्द फिर्ता आउँदैन । यसकारण बोलेको समय अत्यन्तै सतर्कतापूर्वक रहनु पर्दछ । 

यसै प्रसंगमा यो लोक कथा मनन् गरौँ ।

प्राचिन समयमा एक सन्त दैनिक आफ्ना शिष्य र अन्य मानिसहरुलाई उपदेश दिन्थे । गाउँका धेरै मानिसहरु सन्तलाई अत्यन्तै सम्मान गर्दथे । तर केहि यस्तापनि थिए जो सन्तलाई मन पराउँदैनथिए ।

एकदिन सन्तलाई नराम्रो भन्ने व्यक्ति उनको आश्रममा पूगे र सबैको सामू सन्तको अपमान गर्न थाले । तर सन्तले उसलाई फर्किएर हेरेनन् र केहि भनेनन् पनि । ती मानिस बोलेको बोल्यै गरे । गाउँका मानिस यो देखेर धेरै दुखी भए । सन्तले आफ्नो प्रवचन पुनः सुरु गरे ।

ती हकार्ने व्यक्ति जब घर पूगे उनलाई अर्कै महशुष भयो । उनी अर्को दिन सन्तको आश्रममा पूगे र उनीसँग माफी माग्न थाले । सन्तले भने- एउटा काम गर आश्रममा पंक्षीहरुका पखेटा छरपस्ट छन् । तिनिहरुलाई एकठ्ठा पारेर यहाँबाट लैजाऊ । ती व्यक्तिले तुरुन्तै काम गर्न सुरु गरे । केहि समयपछि उनी प्वांख लिएर आए ।

सन्तले उनलाई भने- अब यी प्वांखहरु आफ्नो नगरको बीचमा राखेर आऊ । ती व्यक्ति सन्तको आज्ञा मानेर नगरको बीचमा पुगे र सबै प्वांख राखेर फर्किए । सन्तले उसलाई फेरि भने, अब एक थप र अन्तिम काम गर । ती सारा प्वांख फिर्ता लिएर आऊ ।

जब ती व्यक्ति नगरको बीचमा पूगे, तब त्यहाँ प्वांख थिएनन्, उडेर यताउता फैलिएका थिए । सबै प्वांखलाइ एकठाउँ पार्न धेरै मुश्किल थियो । उनी खाली हात सन्तकोमा फर्किए र सबै कुरा सुनाए ।

सन्तले भने- भाई, ठिक यसैगरी जब हामी रिसाएको हुन्छौँ तब धेरैकुरा बोल्छौँ । बोलिएको कुराले अर्कालाई दुःख दिन्छ । जब हाम्रो मन शान्त हुन्छ, तब हामी गल्तीको पश्चाताप गर्छौँ । तर त्योबेला हामी केहि गर्न सक्दैनौँ । जसरी सबै प्वांख एकठाउँ संकलन गर्न सम्भव छैन त्यसैगरी मुखबाट निस्किएको शब्द पुनः फिर्ता लिन सकिँदैन । यसकारण रिसबाट बच्नु पर्दछ र केहि बोलेको बेला सतर्क हुनु पर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत