गाउँ सहर

परराष्ट्र मन्त्री ज्ञवाली भारतबाट फर्के, काेभिड भ्याक्सिन उपलब्धदेखि १९५० को सन्धिको पुनरावलोकन विषयसम्म छलफल

काठमाडौँ । नेपाल-भारत संयुक्त आयोगको परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी भई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार भारतको नयाँ दिल्लीबाट काठमाडौँ फर्केका छन् ।

फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको वार्ताका क्रममा नेपालमा कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता भारतले पूर्ति गरिदिने सहमति भएको जानकारी गराएका छन् ।

सन् १९५० को सन्धिको पुनरावलोकन, रक्सौल-काठमाडौँ रेलमार्गको सर्वेक्षण निरन्तर जारी राख्ने तथा जयनगर-कुर्था रेल चाँडै सञ्चालनमा ल्याउने सहमति पनि दुई देशका अधिकारीहरुबीच भएको मन्त्री ज्ञवालीले नेपाल फर्केपछि पत्रकारहरुलाई बाँडेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने सहमति पनि भएको छ । पारवहन तथा रेलसम्बन्धी सम्झौता पुनरावलोकनको सहमति पनि भ्रमणका क्रममा भएको छ ।

बैठकले राजनीतिक सुरक्षा तथा सीमा कनेक्टिभिटी, पूर्वाधार एवम् आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति, पर्यटन तथा शिक्षा गरी मुख्यतया: पाँचवटा समूह अन्तर्गत आपसी सहयोगका विविध पक्षहरुमा समष्टिगत समीक्षा गर्दै द्विपक्षीय सहयोग प्रबर्द्धन गर्ने सहमति गरेको पनि मन्त्री ज्ञवालीको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल-भारत सम्बन्ध घनिष्ठ, सघन र विविध रहेकाले द्विपक्षीय संयन्त्रहरु नियमित र प्रभावकारी हुनु अत्यन्त जरुरी रहेको पनि मन्त्री ज्ञवालीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत