गाउँ सहर

आज २३ औं भूकम्प सुरक्षा दिवस : जोखिमलाई न्यूनीकरणका लागि सचेतना

काठमाडाैं । आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्षकाे नारा ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ रहेकाे छ । 

हरेक वर्ष माघ २ गते भूकम्प दिवस मनाइँदै आएको छ । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ का रूपमा मनाउने गरिएको हो । 

 विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
 
‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो । 

यसवर्ष मध्यपुर नगरपालिका थिमिको बोडेमा रहेको कुमारी पार्कमा भूकम्प सुरक्षा दिवस मनाउन लागिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

दिउँसो हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । भूकम्प सुरक्षा दिवस मुल आयोजक समितिका संयोजक गृहमन्त्री रामबहादुर थापा रहेका छन् । नगरपालिकाको उपसंयोजनमा दिवसको आयोजना गर्न लागिएको हो ।  

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भूकम्पलगायतका विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबै निकाय र नागरिकबीच सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको अनुभवलाई आधार बनाएर बाढी पहिरोले क्षति गरेका हजारौँ घर पुनर्निर्माण गर्न यसै हप्ता कार्यविधि पारित गरिएको समेत बताए ।

प्राधिकरणले जोखिमको जानकारी गराउन विपद् पोर्टलमा राख्ने व्यवस्था, बाढी र पहिरोको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कार्य सुरु गरिसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ  । 

प्रधानमन्त्रीले विपद् जोखिम न्यूनीकरणका लागि प्राथमिकता र लक्ष्यका आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो । यसको पुनःनिर्माणका लागि पाँच वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरेकी थिइन् । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेको स्थल रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण यसै वर्ष सम्पन्न भएको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत