समाज

कृषि विकास अधिकृतसहित ३ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ। कृषि विकास अधिकृतसहित ३ जना विरुद्व मुद्दा दायर गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जनामाथि अख्तियारले मुद्दा दायर गरेको हो ।

कार्यालय प्रमुख घिमिरे र जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरीसमेतले धेरै योजनामा विल पेश गरेर मात्रै कामै नगरी किर्ते गरी रकम हिनामिना गरी भ्रष्टाचार गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा चितवनको हाताभित्र निर्माण गर्नुपर्ने आधुनिक नर्सरी घर निर्माण सम्झौता अनुसार नगरी तथा उक्त रकम लक्ष्मी माध्यामिक विद्यालय जगतपुरको खातामा नपठाई नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौता बमोजिमको पूर्ण काम नै नगरीे झुठा विल भरपाईको आधारमा भुक्तानी दिई ४ लाख १२ हजार ४ सय ७४ रूपैयाँ ३७ पैसा सरकारी रकम हानि नोक्सानी गरेको स–प्रमाण पुष्टि भएको अख्तियारले जनाएको छ । 

कार्यालय प्रमुख घिमिरे, नारायणी एग्रो कम्पनीका संस्थापक सदस्य गोपीनाथ भुसाल र सोही कम्पनीका मेनेजिंग डाईरेक्टर गिरीमाथि कानुन बमोजिम बिगो असुल उपर र कैद जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत