समाज

माघे संक्रान्ति : महास्नान गर्ने हाे ? पापबाट माेक्ष प्राप्त हुन्छ

काठमाडाैँ । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परा देखि नै मनाउँदै आएको पर्व हो । नेपाली समाजमा यो एउटा प्रमुख चाडको रुपमा मान्ने गरिन्छ । यो पर्व माघ महिनाको पहिलो दिन पर्दछ ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । सामान्यतयाः सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घीउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घीउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक मान्यता रही आएको छ । 

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।  

(मकर संक्रान्ति) का दिन घीउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ । मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ । महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ । यस दिन स्नान गर्नाले सम्पूर्ण पापबाट मोक्ष हुने धार्मिक विश्वास रही आएको छ । 

धार्मिक विश्वास
माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ । दाङ देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ । त्यहाँ भारतबाट समेत ठूलो सङ्ख्यमा तीर्थालुहरू आउँछन् । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ । यसैगरी दाङ देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन् । यसलाई बाघनाथ बाबा कुट्टी भनिन्छ । त्यस्तै, दाङ देउखुरीको कालापानीको कुण्डमा स्नान गरी पूजा गर्नाले लुतोलगायतका रोग निको हुन्छ भन्ने जनविश्वास छ । यो ठाउँ स्थानिय थारू भाषामा खौराबाबाको नामले प्रख्यात छ । खौराबाबालाई शिवजीको अर्को रूप मानिन्छ ।

सम्बन्ध प्रगाढ बनाउने दिन
माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ । यसलाई सेवाढोग वा सेवा सलाम लग्ना भनिन्छ । यो प्रक्रिया घरबाट सुरू भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ । जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ । मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्ने गर्दछन् । यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ । त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रूपमा पनि लिइन्छ ।

नयाँ आर्थिक वर्ष
माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । हुन त यो प्रचलन नयाँ होइन प्राचीन कालमा गतेको प्रचलन न आउँदा तिथि अनुसारका वास्तविक माघ महिनाबाट नयाँवर्ष शुरू हुन्थ्यो र पुष कृष्ण औंसीमा वर्षान्त हुन्थ्यो वेदांग ज्योतिषमा भनिएको छ।  माघशुक्लप्रन्नस्य पौषकृष्णसमापिनः युगस्यपञ्चवर्षस्य कालज्ञानं प्रचक्षते माघशुक्ल प्रतिपदाबाट नयाँ आर्थिक कार्यनीति शुरु भै पौषकृष्ण औंसीमा सक्किने खालको हुन्थ्यो यस्ता पञ्चवर्षात्मक कार्ययोजनाहरू लागु गरिन्थे्र माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ ।

घरसल्लाह गर्ने पर्व
माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ । माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ । घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूलीको बन्नेजस्ता कुराको छलफल हुन्छ । घरपरिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्दछन् । जस्तै गरढु्रै (घरमुली बन्ने) गर्ने, बहरिया (घर बाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन माघीमा नै गर्ने गरिन्छ । यही बेला घरमा मिलेर बस्ने या छुट्टिने कुराको समेत सल्लाह हुन्छ । भाइभाइमा मन नमिले माघीमा नै अशंबण्डा गरिन्छ । यसलाई घर फुटाइ पनि भनिन्छ । अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका पञ्च भलाद्मी, महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताको रूपमा बोलाईएको हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत