सडक/यातायात

लाइसेन्स ट्रायलमा सामान्य गल्तीले फेल नहुने 

काठमाडौँ । सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ। यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । 

यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल नहुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् । 

अहिले ट्रायल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुन्छन् । राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलिया कहाँ जाने समस्या देखियो। त्यही भएर अलि सहज बनाउन यो काम गर्न लागिएको उनले बताए । 

हमालका अनुसार नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास फेल निधो गरिनेछ । ट्रायल सुरूवातकै एट ९८० मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ ।

यो ट्रायलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास हुने उनले जानकारी दिए। प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको उनले बताए । 

अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्। त्यस्तै ८ कटाएको निश्चित अंक हुनेछ। यस्तै–यस्तै विभिन्न प्यारामिटर हुने हमालले जानकारी दिए ।

समग्रमा ट्रायलका सानातिना कडा नियम अलि खुकुलो बनाउन लागिएको उनको भनाइ छ। त्यस्तै लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन हुने उनले जनाए । पाँच सय वा १ हजार प्रश्नका सेट हामी सुरूमै सार्वजनिक गर्नेछौं, प्रश्न त्यहीँ भित्रबाट मात्रै सोधिने हमालले बताएका छन् ।  

गाउँ सहर डेस्क

तपाईँको मत