वातावरण

तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म

काठमाडाैं । केही दिनअघि काठमाडाैं उपत्यका वायु प्रदूषणले ढपक्कै ढाक्याे । विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै पुग्याे । एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले अनावश्यक घर बाहिर ननिस्किन सुझाव दिए । आकास तुवाँलोले ढाक्दा वातावरण नै प्रदूषित देखियाे । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर अपिल गरे ।

अर्काेतिर काठमाडौं बढ्दो सहरीकरण र सवारी चापको चपेटामा परेको छ । सवारीसाधनको धुवाँले प्रदूषण उत्तिकै बढाइरहेकाे छ । 

विभागले बालबालिका, वृद्धवृद्धा एवं दमखोकीजस्ता स्वासप्रश्वाससम्बन्धि र मुटुका बिरामीलाई घरबाहिर ननिस्किन अपिल गरेको छ । काठमाडौं उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरु नेपालगन्ज र विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च पाइएको छ । काठमाडौंवासीले आँखा पोल्ने गरेको गुनासो गरेको चिकित्सक बताउँछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले १० मृतकमध्ये एक जनाको वायु प्रदूषणबाट ज्यान जाने गरेको जनाएको छ। कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा युद्धसहित सबै खाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको दाबी गरिएको छ। वायु प्रदूषणका कारण हुने मृत्युको संख्या धूमपानबाट हुनेभन्दा धेरै भएको उक्त अध्ययनमा उल्लेख छ।

वायु प्रदूषणले शरीरका विभिन्न अंगमा क्यान्सर गराउँछ। चुरोट सेवन नगर्नेलाई पनि फोक्साको क्यान्सर भएको छ। यसका साथै छाला, आँखालगायत अंगमा क्यान्सर गराउँने चिकित्सकहरूकाे भनाइ छ ।

वातावरणीय प्रदूषणले हाम्रो स्वास्थ्यमा नकारात्मक र दीर्घकालीन असर  पुर्‍याउने दुइमत छैन् । विशेषज्ञहरूका अनुसार प्रदूषणका कारण ठोस, तरल र ग्यासरूपी रासायनिक र सूक्ष्म कणहरूले छालामा बहुआयामिक हानि गर्छन् । छाला शरीरको बाह्य र ठूलो अंग भएकाले यसले रक्षात्मक कवचको काम गर्छ ।

प्रदूषणको पहिलो सिकार पनि छाला नै बन्छ । विकारयुक्त रासायनिक पदार्थहरू छालाका पत्रभित्र पस्छन् र समस्या निम्त्याउँछन् । यिनले छालाको पहिलो पत्रमा हुने भिटामिन 'ई' नाश गर्ने र तेल तत्वको सन्तुलन बिगार्ने अनुसन्धानले देखाउँछ । यसरी तेल र भिटामिन नाश हुँदा छाला सुक्खा, चमकहीन हुने र एलर्जीप्रति बढी कमजोर हुने गर्छ ।

चीनमा गरिएको अनुसन्धानले भने कतिपयमा छाला धेरै चिल्लो हुने देखिएको छ। यो चिल्लोपना प्राकृतिक रूपले नभई छालाको काँचुली फेर्नमा प्रदूषणले  पुर्‍याउने बाधाले र तेल ग्रन्थि बन्द गर्ने कारणले हुने देखिएको छ। तेलग्रन्थि थुनिँदा डन्डीफोरको समस्या धेरै  बढ्न सक्छ । सहरी धुवाँधुलो र सवारीबाट निस्कने धुवाँले कालो दाग लगायतका समस्या बढाउँछ। यसैगरी दीर्घकालमा छिट्टै चाउरी पर्ने र क्यान्सरको जोखिम बढ्ने देखिएको छ। कत्लेरोग र एलर्जीका समस्या पनि दिनँहु बढ्दो छ ।

यी विभिन्न समस्याबाट बच्न छालालाई सधैं सफा राख्ने, नियमित मोइस्चराइजर र सनक्रिम प्रयोग गर्ने गर्नुपर्छ। बाहिर निस्कँदा पूरा बाहुला भएको लुगा लगाउने र राम्रो किसिमको मेडिकल मास्क लगाउने गर्नुपर्छ।

दिउँसोको प्रचण्ड घाम र प्रदूषणको समयमा बाहिरी काम सकेसम्म कम गर्ने र घरभित्र एयरफिल्टर वा हावा सफा गर्ने यन्त्र जडान गर्ने सल्लाह पनि विशेषज्ञले दिनछन्। विभिन्न अन्तर्राष्ट्रिय मेडिकल सर्वेक्षणका अनुसार कोठाभित्र बस्दा झ्याल ढोका लगाएर बस्ने र घना सवारी आवतजावत हुने प्रमुख सडकहरूबाट घरहरू टाढा बनाउँदा पनि स्वास्थ्यमा पर्ने जोखिमलाई न्युनीकरण गर्न  सकिन्छ। 

जाडोयाममा देखिने अन्य रोगहरू र कोरोनाभाइरसका लक्षणहरू सामान्यतया उस्तै हुने भएकाले शङ्का लाग्ने बितिक्कै परीक्षण गर्न पनि उनले सुझाएका छन् । खासगरी अहिलेको प्रदूषणका बेला ट्राफिक धेरै हुने क्षेत्रमा बिहान बेलुका नहिँड्न, मास्क लगाएर मात्रै घरबाहिर निस्किन र न्यानोका लागि आगो नबाल्न वातावरणविद्हरू सुझाउँछन् ।

वायु प्रदूषणले मुटुसम्बन्धी र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउने र हाम्रो स्वस्थ जीवनयापनमा अन्य असर पार्ने बताइएको छ ।

विश्वभरि हुने वायु प्रदूषणका कारण हुने दुई तिहाइ असामायिक निधनमा मानवसिर्जित वायु प्रदूषण कारक रहेको बताइएको छ । अध्ययनले वायु प्रदूषणले बुढो मानिसहरूलाई बढी असर गर्ने देखाएको छ: उनीहरूका अनुसार वायु प्रदूषणका कारण असामायिक निधन हुनेहरूमध्ये ७५ प्रतिशत मानिस ६० वर्षमाथिका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत