समाज

चोरीका १४ मोटरसाइकलसहित ७ जना पक्राउ

झापा । चोरीका १४ मोटरसाइकलसहित ७ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेर धन्दा चलाउने गिरोहका ७ जनालाई झापा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई प्रहरीले आज विर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरुले बिर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउँदै आइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा माई नगरपालिका–६ बस्ने मनिष गिरी, सोही ठाउँका रोशन गिरी, राजेश गिरी, सोही नगरपालिका २ का क्षितिज भनिने रोशन तामाङ र वडा नम्बर ८ का रोशन बुढाथोकी रहेका छन् । त्यस्तै पाँचथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दीप लिम्बू रहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन् ।

प्रहरीले उनीहरु साथबाट झापा लगायतका बिभिन्न जिल्लाबाट चोरी गरिएका १४ थान मोटरसाइकल बरामद गरेको छ । प्रहरीले १५० सिसिको २ वटा अपाची, २२० सिसिको २ वटा पल्सर र बाँकी १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका सातैजनाविरुद्ध झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत