शिक्षा

‘हेल्मेट’  शिक्षकलाई कारवाही हुने

 कर्णाली । अब  ‘हेल्मेट’ शिक्षकलाई कारवाही हुने भएको छ ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने  ‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले भने, “आफू एक घण्टा नपढाउने र विद्यार्थीलाई विश्वविद्यालयको नेतृत्वविरुद्ध जुलुस गर्न लगाउन केही गलत प्रवृतिका शिक्षकका कारण शैक्षिक उन्नयनमा विभिन्न समस्या सिर्जना हुँदै आएको छ ।”

विश्वविद्यालयको १०औँ सिनेटले यहाँ अध्यापनरत शिक्षकलाई सात घण्टा पढाउने निर्णय गरिसकेको छ । यही पुस २६ गते मौका परीक्षा दिन पाउनुपर्छ भन्दै मध्यपश्चिम इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीले उपकुलपतिको कार्यकक्ष तोडफोड गरेपछि पत्रकार सम्मेलन गरेका उनले सो घटनामा संलग्न विद्यार्थी र नियोजित ढङ्गले विद्यार्थी उक्साउने शिक्षकलाई चिनिसकिएको हुँदा उनीहरुलाई सार्वजनिक सम्पतिमाथि तोडफोड गर्ने कसूरमा सार्वजनिक मुद्दा लगाउने बताएका छन् ।

“यहाँ केही क्याम्पस प्रमुखले नै कुनामा बसेर हुलदङ्गा गर्न विद्यार्थी उक्साएका छन्,” उनले भने, “नपढ्ने विद्यार्थीका माग र गलत योजना बनाउने शिक्षकलाई तह लगाएरै छोडिन्छ ।” मध्यपश्चिम विश्वविद्यालयलाई दुहुनो गाई बनाएर रु ७६ करोड बेरोजु लगाउने मान्छेहरुले नै यसलाई अस्तव्यस्त बनाएको उनको आरोप छ ।

उपकुलपति प्रा.डा सिंहले भने, “व्यवहारिक माग भए त्यसको समाधान र सुनुवाइ गर्न छुट्टै समिति बनाइएको छ । वार्तामा आउनुस्, हुने कुरा हुन्छ र नहुने कुरा हुँदैन । तर कुनै पनि गलत कुरामा सम्झौता हुँदैन ।” विश्वविद्यालयमा अध्यापन शिक्षक नै तोडफोड गराउने र विद्यार्थी भड्काएर निजी कलेजमा भर्ना गर्न लगाउने शिक्षकको विवरण आइसकेको उल्लेख गर्दै उनले त्यस्ता गलत शिक्षकलाई बेलैमा सुध्रिन अन्यथा कारवाहीको भागिदार हुनुपर्ने स्पष्ट पारेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत