विश्व

अमेरिकी राष्ट्रपति जो वाइडेनले विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन् ।

केन्द्रीय गुप्तचर निकाय (सिआइए) को निर्देशकको रूपमा उनलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले सोमबार घोषणा गरेका हुन् ।

सरकारी कर्मचारीका रूपमा झण्डै ३३ बर्ष सेवा गर्नु भएका बर्नस अहिले ६४ बर्षको भए । उनी यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत रहेका थिए ।

उनले डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका छन् ।

उनलाई अमेरिकी सरकारी सेवा र कुटनीतिक क्षेत्रमा राम्रो छवि भएको र प्रभावकारी क्षमता भएको व्यक्तिका रुपमा चिनिन्छ ।

उनी गत सन् २०१७ देखि एक बर्ष अगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि कार्यरत थिए । तर ट्रम्पको कुटनीतिक भूमिका अत्यन्त आलोचित भएपछि बर्नसले छाडेका थिए।

“दशकौँको कार्य अनुभव र दक्षताका आधारमा विलियम बर्नस अहिले अनुकरणीय कुटनीतिज्ञ भएका छन्, रक्षा र सुरक्षाको क्षेत्रमा पनि उनको विश्वस्तरीय ज्ञान र क्षमता छ,” बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उनलाई आगामी कार्यकालमा गुप्तचर निकाय प्रमुखको रुपमा जिम्मेवारी दिँदा राष्ट्रलाई फाइदा हुने र अमेरिकामा बस्नेहरु ढुक्कसँग निदाउन पाउने बाइडेनको भनाइ छ ।

उनले राम्रो काम गरेको व्यक्तिको रूपमा अति उच्चस्तरका विभिन्न सम्मानहरु पनि प्राप्त गरेका छन् । बर्नसले अस्फोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधि  हासिल गरिसकेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत