कला

ऋतिक रोशनले जिते आमिर र शाहरुखको बाजीलाई, बने नयाँ शताब्दीका नयाँ स्टार 

एजेन्सी । ऋतिकले आमिर र शाहरुखसँगको बाजी जितेका छन् । कुरा सन् १९९९ डिसेम्बरको हो । राकेश रोशनको फिल्म ‘कहो ना प्यार है’ को निर्माण सकिएको थियो । उनी यस फिल्ममार्फत आफ्नो छोरा ऋतिक रोशनलाई बलिउडमा लन्च गर्दै थिए । अभिनेत्री अमिषा पटेलको पनि यो पहिलो फिल्म थियो । 

फिल्मको रिलिज डेटको योजना भइरहेको थियो । राकेश रोशनले १४ जनवरी २००० मा यो फिल्म रिलिज गर्न चाहेका थिए, तर उनका नजिकका साथीभाई र शुभचिन्तकहरुले यस निर्णयको विपक्षमा थिए । उनीहरुले यसलाई आत्मघाती कदम बताइरहेका थिए । राकेशको यो निर्णयले उनका छोरा ऋतिक रोशनको करियर बर्बाद हुनसक्ने उनीहरुले आंकलन गरेका थिए । 

आमिरको फिल्म मेला ७ जनवरी २००० मा रिलिज हुने घोषणा भइसकेको थियो । यसको निर्देशन धर्मेश दर्शनले गरेका थिए । धर्मेशको निर्देशनमा आमिर अभिनित राजा हिन्दूस्तानी यसअघि ब्लकबस्टर साबित भएको थियो । मेलामा आमिरसँगै उनका भाई फैजल खानले पनि अभिनय गरेका थिए, त्यसैले यस फिल्मलाई लिएर आमिरले ठूलो चासो दिएका थिए । 

मेलाको ठिक दुई सातापछि २१ जनवरी २००० मा शाहरुख खान अभिनिति ‘फिर भि दिल है हिन्दूस्तानी’ प्रदर्शन हुँदै थियो । यस फिल्ममा शाहरुखसँगै जुही चावला मुख्य भूमिकामा रहेकी थिइन् । अजीज मिर्जाले निर्देशन गरेको उक्त फिल्ममा शाहरुख निर्माता थिए । 

आमिर र शाहरुखजस्ता सुपरस्टारको फिल्म रिलिज हुँदै गर्दा राकेश रोशन नवकलाकारलाई लिएर बनाइएको फिल्म रिलिज गर्दै थिए । त्यसैले उनका निकटका साथीभाईलाई यो निर्णय ठिक लागेको थिएन । मानिसहरुले आमिर र शाहरुखलाई रुचाउँछन्, उनीहरु ऋतिकको फिल्म किन हेर्छन् ?  प्रश्न रहेको थियो । 

यस्ता प्रश्न सामना गर्नुपरे पनि राकेश आफ्नो निर्णयमा अडिग रहे । उनलाई आफ्नो फिल्ममा विश्वास थियो । ऋतिकको प्रतिभामा भरोसा थियो ।  तोकिएकै मितिमा तीनवटै फिल्म प्रदर्शनमा आए । आमिरको मेला र शाहरुखको फिर भी दि हैं हिन्दूस्तानी फ्लप भए भने ऋतिकको ‘कहो ना प्यार है’ सुपर हिट भयो । एक नयाँ नायकले सुपरस्टारहरुलाई माथ खुवाइदिए, ऋतिक रोशन नयाँ शताब्दीका नयाँ स्टार बनेर सबैको माझमा उदाउन पुगे। 

गाउँ सहर डेस्क

तपाईँको मत