दृष्‍टिकोण

प्रतिनिधि सभा विघटनका कारण र असरहरू

[भित्तामा पुर्याइदिने इगो राख्दै गर्दा देश ओल्लो घाट न पल्लो तिर]

नेकपाको शक्तिशाली सरकारले नेपाली जनतासँग गरेको प्रतिज्ञालाई सम्झिने हो भने यतिबेला देशमा रेल कुद्नु पर्ने हो, समुद्रमा पानीजहाज चल्नुपर्ने हो, समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थक रुप लिँदै गर्नु पर्ने हो तर मेरो देशको सडकमा आजकाल पुनः टायर बालिँदैछन, जिन्दावाद र मुर्दावादका कर्कस ध्वनीका नारा लाग्दैछन्। शान्त रहेका काठमाडौं र देशका अन्य सहरका सडकहरु यो जाडो मौसममा पनि गर्माइरहेका छन्। 

प्रतिनिधि सभा विघटन भएको दिन मेरा एकजाना मित्रले निराशा प्रकट गर्दै भने यो देशलाई सतिको सराप परेको छ, देशको भलो कहिले पनि हुँदैन र नेपालको विकास पनि हुँदैन। बि. स. २०१५ साल पछि नेपालमा कम्युनिस्टहरुको नेतृत्वमा लगभग दुई तिहाईको शक्तिशाली सरकार निर्माण भएको थियो, तर परिवर्तित राजनीतिक घटनाक्रमपछि मलाई पनि कताकता नेपाल साँच्चै सतिले सरापेको देश नै हो कि के हो झैँ लाग्न थाल्यो, त्यसै कारण हो कि खै किन हो यो देशमा कुनै व्यवस्था फाप्दैनन्, कुनै दल सग्ला रहँदैनन्, यस देशमा न सक्रिय राजतन्त्र फाप्यो न बहुदलीय प्रजातन्त्र फाप्यो, न लोकतन्त्र न त उत्कृष्ट भनिएको गणतन्त्र नै फाप्यो, न बहुमतका सरकार पूर्ण कार्यकाल टिकेर काम गर्न सक्छन् । बिगत ७० वर्ष यता कुनै सरकारले आफ्नो पूरा कार्यकाल काम गर्न पाएका छैनन्। ६ महिना,९ महिनामा सरकार परिवर्तन भैरहदा दिक्क वाक्क भई आजित भएका नेपाली  जनताले स्थीरता र विकासको लागि भनेर झन्डै दुई  तिहाई मत दिएर नेकपालाई सत्ताको साँचो सुम्पेका थिए। 

त्यसैको सेरोफेरोमा नेपालमा कम्युनिस्टहरुको नेतृत्वमा  स्थिर सरकार बन्यो, उसले पुँजीवादको प्रचुर विकास गर्दै समाजवादलाई दीर्घकालीन लक्ष्य किटान गर्यो जनताले अब त देशको विकास होला र आधुनिक विकासको स्वरुप आफ्नै जीवन कालमा हेर्न पाइएला देश र जनताको जिवनस्तर उकासिएला भनी आशा गरि बसे तर यस प्रकरणले नेपाली जनताको सपनामा फेरि एकपटक तुषारापात भएको छ, फेरि देश नेकपाको आफ्नै घरभित्रको यो खिचातानी, पदलोलुपता, व्यक्तिगत इगोका कारण अस्थिरताउन्मुख हुन पुगेको छ, सत्ताको लुछाचुँडीले गर्दा प्रधानमन्त्रीले ताजा जनादेशको लागि निर्वाचनमा जाने भनि प्रतिनिधिसभा विघटन गरिदिएपछि असन्तुष्ट पक्षहरूले प्रधानमन्त्रीको यो कदमलाई प्रतिगमन तथा असम्बैधानीक कदम भन्दै आन्दोलनको घोषणा गरेका छन् । केहीसमय यता एउटा सरल रेखामा गइरहेको यो देशको राजनीति अहिले बक्ररेखामा गैरहेको छ। हठात प्रतिनिधि सभाको विघटन हुँदा देश अनिश्चयको भुमरीमा धकेलिएको छ, यसो हुनुमा बाहिरी सतहमा त्यस पार्टीको प्रमुख नेता, वरिष्ठ नेताहरुको तिब्र सत्तामोह र पदलोलुपता, प्रमुख विपक्षी दलको ढुलमुले प्रवृत्ति आदि देखिएपनि अन्तर्यमा त्यो भन्दा जटिल कार्य कारण रहेको हामी अनुमान गर्न सक्छौं। राजनीतिको यो नयाँ परिघटनामा प्रधानमन्त्री ओली, उनको पार्टीका अन्य नेताहरु, विपक्षी दल, मात्र दोषी छँदैछैनन्। सतहमा जे जुनसुकै कारण देखिए या  भएतापनि नेपाललाई अस्थिरता तर्फ धेकेल्न र आफ्नो स्वार्थको रोटी सेक्न देशी विदेशी शक्तिराष्ट्र हरुको बाक्लो चलखेल यो बिचमा देखिने गरि नै महसुस भयो।

प्रतिनिधि सभा विघटन हुनुको केही कारण र विश्लेषणहरू 

पहिलो कारण त नेकपा भित्रैको नेताहरुको व्यवस्थापन नमिलेको भन्न सकिन्छ त्यस पार्टीमा तीन जना त पूर्व प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष भैसकेका वरिष्ठ नेताहरु थिए नेकपामा उनीहरुको सम्मानजनक व्यवस्थापन जरुरी थियो त्यो नमिल्दा त्यहाँ असन्तुष्ठिका स्वरहरु पार्टी एकता देखि नै सुनिन लागेको थियो, त्यसप्रति ध्यान पुगेन जसले गर्दा आन्तरिक बेमेल, मनमुटावको स्थिति देखा पर्यो। फेरि पार्टी एकता पनि कुनै विचार र सिद्धान्तको आधारमा भएको थिएन। ओलीलाई सत्ता र प्रचण्डलाई अध्यक्ष भाग लगाएर गरेको एकताको धरातलीय जग नै कमजोर थियो, केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने समझदारीको पालना नहुँदापनि समस्या समस्या उत्पन्न हुन पुगेको ठानिएको छ। लगभग दुई तिहाई मत प्राप्त गरेको देशकै ठूलो पार्टीकै सरकार हुनु अनि त्यै पार्टीमा बिग्रह हुँदा त्यसको मूल्य हाल देशले तिर्नुपरिहेको छ, छ, यो देशको आन्तरिक पक्ष हो प्रतिनिधि सभा विघटनको।

दोस्रो कारण अझ महत्वपूर्ण छ प्रतिनिधिसभा विघटन हुनुमा, विश्वमानै रक्षात्मक अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनले नेपालमा भने अविश्वासनीय तवरले उभार लिँदै गयो। सत्ता र शक्ति बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने शास्त्रिय मान्यतामा विश्वास राख्ने कम्युनिस्टहरु लोकतान्तत्रका आधारभूत स्तम्भहरु आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, प्रतिस्पर्धात्मक बहुदलीय परिपाटी अवलम्बन गर्दै निर्वाचनको माध्यमबाट दुई तिहाइ जनमत सहितको सरकार निर्माण गर्न समेत सफल भएको वर्तमान परिप्रेक्ष्यमा विश्वका पुँजीवादी शक्ति राष्ट्रहरुलाई टाउको दुखाइको विषय अवश्य बन्न पुगेको थियो, शान्तिपूर्ण निर्वाचनको माध्यमबाट जनताको मतद्वारा कम्युनिस्टहरुले शासन सत्ता हातमा लिनु राज्यको चरित्र समाजवाद किटान गरि सोही अनुरुप नीति तर्जुमा हुनु भनेको एक हिसाबले यो विश्वमै उदाहरणीय र आश्चर्यजनक राजनीतिक परिघटना बन्न पुगेको थियो यसकारण तिनै पुँजीवादी शक्तिहरु एकातिर कसरी हुन्छ नेपालमा समाजवादी चरित्रको कम्युनिस्ट शासन व्यवस्था अवसान गराउन हात धोएर लागिपरे भने अर्कोतिर आफ्नै स्वार्थका खातिर कम्युनिस्ट शासन व्यवस्थामार्फत देश विकासमा कायपलट गर्दै जनताको जीवन स्तर उकास्न सफल तथा निकट भविष्यमानै विश्वको नेतृत्व गर्ने पर्खाइमा रहेको एक शक्तिशाली राष्ट्र चीन जसरी हुन्छ नेपालमा कम्युनिस्टहरुको झन्डै दुई तिहाइ लोकप्रिय मत सहितको शक्तिशाली सरकार र यो व्यवस्था टिकाइराख्न धेरै कोसिस गर्यो, गर्दैछ किनकी तिब्बतको मामिलामा एक चीन नीतिप्रति राजापछि नेपालमा भरपर्दो शक्ति नेकपा नै हो र चिनियाँ कम्युनिस्ट पार्टीको मित्रशक्ति पनि हो। अमेरिका नेपालमा चीनको बढ्दो उपस्थितिलाई लिएर चिन्तित छ र उ पनि नेपालमा बसेर चिनमाथि निगरानी गर्न चाहन्छ, उसका लागि यो भूमि नै सबैभन्दा उत्तम स्थल हो। भारतका पनि आफ्नै स्वार्थ छन्, उसलाई चिन्ता छ कि नेपाल आफ्नो कब्जाबाट चीनको पोल्टामा नपुगोस्, केही समय यता दक्षिणी छिमेकीका तर्फबाट निरन्तर तारन्तार विभिन्न तहबाट भ्रमण भए, गोप्य मन्त्रणा समेत हुन पुगे, उसको त एकमुष्ट चाहाना नै नेपाल परनिर्भर अझ भनौ भारत निर्भर बनिरहोस्, आफ्नै छत्रछायाँमा रहिरहोस भन्ने हो। नेपाल विकसित, समृद्धशाली तथा आत्मानिर्भर मुलुक बनेको उ पटक्कै देख्न चाहँदैन किनकी भारत नेपाललाई अघोषित रुपमा आफ्नै एक प्रान्त सम्झिएर सोही अनुरुप बढेभैयाको व्यवहार गरिरहन मन पराउँछ, फेरि नेपाल भारतमा उत्पादित बस्तुको ठूलो बजार हिस्सा पनि हो, त्यसैले उ यहाँ स्थीरता र विकास देख्न किन्चित पनि मन पराउँदैन। समग्रमा यो भन्न सकिन्छ कि प्रतिनिधिसभा विघटनमा देशीविदेशी शक्तिहरुको चलखेल, शक्ति राष्ट्रको आफ्नै स्वार्थ, यहाँको राजनीतिमा उनीहरुको सुक्ष्म व्यवस्थापन आदि अवश्य जिम्मेवार छन्।

लेखक सुधिर शर्माको प्रयोगशाला पुस्तकमा उल्लेख गरेझैँ प्यारो सुन्दर देश प्रयोगशालामै रुपान्तरित भो। जनता दैनिक गाइजात्रा हेर्न बाध्य भैरहेछन्। कसैलाई कुन बेला के मुड चल्छ पार्टी एकताको नाटक मन्चन गर्छन्, कसैलाई सनक चड्दा देशको जनप्रतिनिधि संस्था विघटनको शिकार बन्छ, नेताहरुको नजरमा देश मासुको टुक्रा हो जो सबै बाँडीचुँडी खाउन जनता मुकदर्शक मात्र। यो देश मुठ्ठीभर केही नेताहरुको स्वार्थको कारण आज सामाजिक, आर्थिक, राजनीतिक रुपले थिल्थिलो र दलदलको भाषमा फसेर दिन प्रतिदिन परनिर्भर बन्दै गैरहेको छ। यी नेता भनाउँदाहरु आफैँ ठिक छैनन् यिनको अकर्मण्यता, स्वार्थ, पदलोलुपता, व्यक्तिगत इगोका कारण देश र यस देशमा बसोबास गर्ने तीन करोड नेपाली जनताको जीवन अत्यन्त पीडामा गुज्रिएको छ। खै कहिले पलाउने हो यिनको सद्बुद्धि, सबैले जित्न कोसिस गरिरहँदा देश हारेको पत्तै पाएनन् यिनिहरुले, भुइँको टिप्न खोज्दा गोजीको खसेको होस भएन, एकले अर्कोलाई खुइल्याउन खोज्दा आफ्नै धोती खुस्केको याद भएन यिनिहरुलाई।  विश्व मानचित्रमा अटल सौम्य र शान्त रुपमा रहेको यो देशको अहिलेको चिनारी हेर्दा कुनै पनि तथ्यांकहरु संतोषजनक छैनन्।

विकासको दृष्टिकोणले हेर्दा विश्वका विकसित मुलुकको दाँजोमा त हाम्रो मुलुक ढुङ्गेयुगमै छ, न राजनीतिक रुपले स्थिर छ न आर्थिक सामाजिक रुपले नै आत्मानिर्भर छ, यसतर्फ ध्यान पुग्नु त कता हो कता उल्टो घर झगडामा मस्त छन्, देश डुबिरहँदा उनिहरुलाई कुर्सिको लफडा छ, को ठूलो र गद्दावाला कुर्सीमा बस्यो, को साधारण कुर्सीमा बस्यो? देश बनाउने जिम्मेवारी पाएका नेतागणहरुको चाला हेर्दा र सुन्दा पनि  लाजमर्दो स्थिति छ देशमा। घर झगडा बेलैमा साम्य नपार्दा क्षति कति सम्म हुन्छ महाभारत अध्ययन गर्ने दिग्गज नेतागणहरुमा जानकारी अवश्य हुनै पर्ने हो, दाजुभाइको झगडाले परिवार तहसनहस हुन्छ, नेताहरुको झगडाले देश बर्बाद हुन्छ, एक पक्षले अर्को पक्षलाई देखाइदिने, भित्तामा पुर्याइदिने इगो राख्दै गर्दा देश ओल्लो घाट न पल्लो तिर हुन पुगेको छ। अझै पनि चेत नपलाउने हो भने पछि हामीलाई पछुताउने समेत फुर्सद हुँदैन, बेलैमा सबैको चेत खुल्नु जरुरी छ।

गाउँ सहर डेस्क

तपाईँको मत