राजनीति

संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नुपर्ने, जनतामा जान कांग्रेस तयार : सभापति देउवा

[अदालतमा विचाराधिन मुद्दामा जुलुश निकालेर दवाब सिर्जना गर्न नहुने]

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित विरोध सभामा बोल्दै सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताएका हुन् ।

अदालतमा विचाराधिन मुद्दामा जुलुश निकालेर दवाब सिर्जना गर्न नहुने उनले बताए । 

उनले भने, "जुलुशको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पुर्याई संवैधानिक मूल्य र मान्यता अनुसार निर्णय गर्नेछ । निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार छ ।"

जनतामा जाँदा केही नबिग्रिने भन्दै सभापति देउवाले सर्वोच्च अदालतभन्दा ठूलो अदालत जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु नहुने बताए । 

देशमा कम्युनिष्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनतासमक्ष जानुपर्ने उनले बताए ।

साथै उनले आज विज्ञप्ति निकालेर विरोध प्रदर्शनमा साथ दिनुहुने सबैमा धन्यवाद भनेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत