विश्व

नेपाली विद्यार्थीले कोरियामा इ–९ भिसा पाउने

एजेन्सी । नेपाली विद्यार्थीले कोरियामा इ–९ भिसा पाउने भएका छन् । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई  इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको हो । इ–९ भिसा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेषाज्ञा) हो ।

यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताएका छन् ।

यहाँको  रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिने बताएको छ ।

इपिएस प्रक्रियामार्फत रोजगारीका लागि कोरिया आउने प्रवासी श्रमिकले पहिलोपटक चार वर्ष १० महिनाको लागि भिसा प्राप्त गर्दछन् र सो अवधिको समाप्तिपछि श्रमिक अनिवार्य स्वदेश फर्किनुपर्ने प्रावधान रहेको छ । प्रवासी विद्यार्थीलाई प्रदान गर्ने भनिएको भिसामा भने विद्यार्थीका लागि पनि एउटै नियम हो या अन्य नियम हो भन्ने कुरा यहाँको कानून मन्त्रालय र रोजगार मन्त्रालयले संयुक्त रुपमा निर्णय गरी लागू गर्ने छ । 

गाउँ सहर डेस्क

तपाईँको मत