अर्थतन्त्र

हलेसी मन्दिर खुलेको एक महिनामा छ लाख भेटी सङ्कलन

खोटाङ । हलेसी मन्दिर खुलेको एक महिनामा छ लाख भेटी सङ्कलन भएको छ ।  महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा रु साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको हो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६ गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट रु पाँच लाख ६४ हजार २९० भेटी सङ्कलन भएको छ ।

गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत मङ्सिर १६ गते खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो सङ्ख्यामा भेटी सङ्कलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट रु तीन लाख ३० हजार ५९५, बसाहा गुफामा राखिएको दानपेटिकाबाट रु २९ हजार ६३५ र गणेश मन्दिरमा राखिएको दानपेटिकाबाट रु १४ हजार ७० भेटी सङ्कलन भएको छ ।

गत चैत ६ गतेदेखि पुस ८ गतेका बीचमा मन्दिरको प्राङ्गणमा राखिएको दानपेटिकामा रु एक लाख ८९ हजार ९९० भेटी सङ्कलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । दर्शनार्थी तथा भक्तजनले भारु ६५० र अमेरिकन डलर एक रुपैयाँ चढाएका छन् । यस्तै, १०६.५० ग्राम चाँदी र १.३ ग्राम सुन सङ्कलन भएको सूचना केन्द्रले जनाएको छ ।त्रिधार्मिकस्थलका नामले प्रसिद्ध हलेसीमा गतवर्ष रु ८७ लाख ६६ हजार २७४ भेटी बापतको रक सहित सुन ११.५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ ।

हलेसीमा अहिले दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेको विकास समितिका अध्यक्ष टङ्क राईले जानकारी दिए । “हलेसीमा रामनवमीको अवरमा १५ दिन, बालाचतुर्दशीको अवसरमा १२ दिन, शिवरात्रीको अवसरमा मेला सात दिन र हरितालिका तीजको अवसरमा तीन दिन मेला लाग्दै आएको छ”, उनले भने, “यस वर्ष कम्तीमा दश पटक मेला लगाउने तयारी गरिएको थियो । कोरोना महामारीका कारण समस्या भयो ।”

अहिले व्यापार व्यवसायसमेत खुल्न थालेका छन् । व्यवसायीसमेत आफ्नो लयमा आएका उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्व अध्यक्ष एवं होटल हलेसी भिलेजका सञ्चालक राजेन्द्र लयालुले बताए ।

हलेसीमा स्वदेश सहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत्लगायतबाट दर्शनार्थी आउने गरेका छन् । हलेसी आउने भक्तजन तथा दर्शनार्थीका लागि आयल निगमको लगानीमा अतिथि गृहसमेत निर्माण भइरहेको बताइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत