राजनीति

संसद विघटन कदमविरुद्ध नेविसंघले भाेली उल्टो हिँडेर प्रदर्शन गर्ने, आन्दोलनका कार्यक्रम आज सार्वजनिक गर्ने

काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिले बिहिबार काठमाडाैंमा २०४६ को ऐतिहासिक परिवर्तन पछिको नेपाल विद्यार्थी संघको नेतृत्व सम्हालेका पूर्वअध्यक्ष एवम् महामन्त्रीहरूसँग 'समसामयिक राजनीतिक तथा सांगठनिक' विषयमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम मार्फत संघलाई अत्यन्त समसामयिक, फलदायी र सौहार्दताका साथ गहन र सान्दर्भिक बिचार, मार्ग निर्देशन र सुझाव, सल्लाह  प्राप्त भएको  नेविसंघ अध्यक्ष राजिब ढुंगानाले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष एन.पि. साउदको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, बद्री पाण्डे, गोविन्द भटराई, गुरु घिमिरे, कल्याण गुरुङसहित संघका पूर्व अध्यक्ष र महामन्त्री तथा केन्द्रीय समितिका पदाधिकारीबीचको छलफलमा केन्द, समितिको बिस्तार, महाधिवेशन उन्मुख गतिबिधि, सांगठनिक एवम् अन्य क्रियाकलाप र समसामयिक राजनीतिक, शैक्षिक र सामाजिक सन्दर्भमा गर्ने आन्दोलन र अन्य अभियानहरूका सम्बन्धमा गम्भीर छलफल भएको अग्रज नेतृत्व पङ्क्तिबाट सदैव साथ, सहयोग र शुभेच्छा रहने बचनवद्धता प्राप्त हुँदा थप उत्साह र हौसला प्राप्त भएको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

कार्यक्रममा सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध सशक्त प्रतिरोध गर्न र पार्टीले घोषणा गरेको आन्दोलनलाई  प्रभावकारि बनाउन आफ्नो थप कार्यक्रमसहित नेविसंघपूर्ण रुपले परिचालन हुनुपर्ने भन्दै अब केन्द्रीय समितिको पूर्णताका निम्ति पार्टी नेतृत्वसँग समन्वय र दबाब सृजना गरि तत्काल बिस्तार गराउन आवश्यक पहलको नेतृत्व लिने बताएको संघका महामन्त्री युबराज पाण्डेले बताए ।

कार्यक्रममा संघका पूर्व महामन्त्री तथा कांग्रेस नेता गगन थापाले प्रतिगामी कदमका विरुद्ध आन्दोलन मार्फत शसक्त प्रतिबाद गर्दै संसद पुनर्स्थापना गराउन लाग्नुपर्ने र त्यसैले मात्र संविधानलाई सहि बाटोमा ल्याउने भन्दै नेविसंघ लगायत भातृसंस्थाको तत्काल पूर्णता दिइनुपर्नेमा जोड दिए ।

बिहीबार नै बसेको नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको बैठकले सरकारको प्रतिगामी कदमका बिरुद्ध छुट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्नुका साथै पार्टीले घोषणा गरेको आन्दोलनका कार्यक्रम लाई सफल बनाउन र सक्रिय सहभागिताका निम्ति परिचालन हुन परिपत्र गरेको संघका महामन्त्री बलदेब तिमल्सिनाले बताए ।

नेविसंघले केन्द्रीय समितिको आयोजनमा भोली पुष २४ गते दिउँसो १ बजे माइतीघर मण्डलाबाट सरकारको प्रतिगामी कदमका बिरुद्ध उल्टो हिडेर बिरोध प्रदर्शन (उल्टो जुलुस) गर्दैछ भने थप चरणबद्ध आन्दोलनका कार्यक्रम, कार्यसमितिको पूर्णताका निम्ति आवश्यक दबाब, सांगठनिक गतिविधि लगायतका निर्णयहरु आज सार्बजनिक गरिने महामन्त्री तिमल्सिनाले बताए ।

यसअघि नेकपा प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) ले संविधानको धारा खोज्न भन्दै सांकेतीक रुपमा लालटिन बालेर प्रदर्शन गरेको थियो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत