राजनीति

राप्रपा पाँचथरको जनताले महत्वपूर्ण भूमिका प्रदान गर्न सक्ने संभावना बढिरहेको दावी 

पाँचथर । जनताको चासोलाई केन्द्रमा राखेर अघि बढे राष्ट्रिय राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई जनताले महत्वपूर्ण भूमिका प्रदान गर्न सक्ने संभावना बढिरहेको दावी गरिएको छ ।

‘जनताले विकल्प खोजिरहेको बेला, एक ढिक्का राप्रपाले राष्ट्रिय आवश्यकता परिपूर्ति गर्न निर्णायक भूमिका निर्वाह गर्नु पर्दछ । यसका लागि राजसंस्था र सनातन हिन्दुराष्ट्र पूनःस्थापना महत्वपूर्ण मुद्दा हो । राप्रपा जनताको लोकप्रिय पार्टी बन्ने प्रबल संभावना छ,’ राप्रपाका केन्द्रीय सदस्य मदन पोखरेलले राप्रपाको कुम्मायक गाउँपालिकास्तरीय अन्तरक्रिया भेटघाटलाई सम्बोधन गर्दै भने ।

पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देशव्यापी देखिएको जनलहरलाई तार्किक निष्कर्षमा पुर्याएर, नेपालको राष्ट्रियता र प्रजातन्त्र सुढृद गर्नु पर्दछ, राप्रपा पाँचथर जिल्ला अध्यक्ष राजकुमार जोशीले भने ।

‘हिजोका गल्ती सच्याउन, देशमा स्थीर र दिगो प्रजातन्त्र स्थापना गर्न अवसर र समय आएको छ । युवापंक्तिको शक्तिमा यो लक्ष्य प्राप्त गर्न सकिन्छ,’ अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष जोशीले भने ।

पार्टीका जिल्ला सचिव कमल कुमार राईले विगतका कमी कमजोरी, घात अन्तरघात निर्मूल पारेर, एकताको सकारात्मक वातावरण निर्माण गर्नु पर्ने बताए । राप्रपा जनताको पार्टी हुनुपर्दछ भन्दै उनले जोड दिए ।

स्थानीय सरकारहरु दल हेरेर जनतालाई सेवामा पक्षपात गर्छन् । यस्तो साँघुरो दलमुखी आचरण प्रजातन्त्रको मर्म विरुद्ध छ, क्षेत्रीय अध्यक्ष टठबहादुर घिमिरेले भने । राष्ट्रिय तहमा मात्र नभएर, स्थानीय तहमा पनि जनताले विकल्प खोजेका छन्, उनले भने ।

छत्रमणी दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य चन्द्र लावती, किसान संगठनका जिल्ला अध्यक्ष भीम खत्री, युवक संगठनका जिल्ला उपाध्यक्ष मदन चाम्लिङ, शिक्षक परिषदका जिल्ला सदस्य भक्त तामाङ, अगुवा कार्यकर्ताहरु भूपी लावती, सावित्रा कार्की, चिरन्जीवी लावती, प्रवीण भण्डारी, डम्बर फेउदेन लगायतले धारणा राखेका थिए ।

पार्टी समायोजनासम्बन्धी केन्द्रीय निर्देशनबमोजिम महाधिवेशनबाट निर्वाचित ८४ प्रतिशत बहुमत सदस्यलगायत निर्वाचित अध्यक्ष संस्थागत रुपमा साविक राप्रपा (संयुक्त) मा कायम रहेको अवस्थामा, सोही अनुसार राजकुमार जोशीको नेतृत्वमा पार्टीको जिल्ला समिति समायोजन गर्नु पर्दछ भन्ने स्थानीय कार्यकर्ताहरुको सर्वसम्मत राय थियो ।

जिल्ला समायोजन स्वभावैले प्रदेश वा अन्य समितिसँग नभएर, जिल्ला समिति अन्तर्गत हुनुपर्दछ भन्ने विचार सहभागीहरुले व्यक्त गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत