वातावरण

देशभर पश्चिमी वायुको प्रभाव : काठमाडाैं उपत्यका लगायत विभिन्न स्थानमा हल्का वर्षा

काठमाडाैं । यस वर्षकाे हिउँदे वर्षा भएकाे छ । काठमाडाैं लगायत देशका विभिन्न भागहरूमा आज (साेमबार) बिहान वर्षा भएकाे छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देभर पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले आज बिहान भने देशभर सामान्य बदली भइरहेको जनाएको छ । 

यसैगरी आज दिउँसो देशभर सामान्य बदली हुने पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,  गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको हुनसक्ने पूर्वानुमान छ ।

यता, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न। १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति  देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू९भागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने सम्भावना रहेको छ । 

साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र  गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हिजो बिहान २ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाडाैंको न्यूनतम तापक्रम आज बढेर ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

यसअघि गएको कात्तिक २३ गते काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता लगातार घट्दै न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियससम्म झरेको थियो । तर बादल लागेपछि तापक्रम ह्वात्तै बढेको हो । तर, न्यूनतम तापक्रम अहिले बढे पनि पश्चिमी वायुको प्रभाव हटेपछि भने तापक्रम घट्ने र चिसो झनै बढ्ने मौसमविद्ले बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत