गाउँ सहर

दार्चुलाको हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

दार्चुला । दार्चुलाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । आइतबार बिहानदेखि भइरहेको वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । चिसोका कारण लेकाली क्षेत्रका मानिस र पशुचौपाया समेत कठ्याङ्ग्रिएका छन् ।

दार्चुलाको व्यास, अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भूभागमा हिमपात भएको छ । व्यास र अपिहिमाल गाउँपालिकाको धेरैजसो भूभाग हिमपातले सेताम्ये भएको छ । हिमपातका कारण चिसो बढेपछि स्थानीयले बाहिर निस्कन र दैनिक कामकाम समेत गर्न नसकेको व्यासका स्थानीय योगेश बोहराले बताएका छन् ।

हिमपातपछि चिसो ह्वात्तै बढेकोले हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बनेको छ । हिमपातले दैनिक जनजीवनमा प्रतक्ष प्रभाव पारेको अपिहिमालका स्थानीय योगेन्द्र धामीले जानकारी दिए । यो वर्ष हिमाली क्षेत्रमा दोस्रो पटक हिमपात भएको हो । प्रयाप्त वर्षा नभएको भन्दै आकासे पानीको भरमा खेती गर्दै आएका किसानहरु भने चिन्तित बनेका छन् । खेतमा बिउँ छरेदेखि हालसम्म प्रयाप्त वर्षा नहँुदा सुख्खा क्षेत्रको जमिन बाँझै रहेको लेकम गाउँपालिका–५ का स्थानीय बताउँछन् । वर्षा नभएकै कारण खेतमा लगाएको हिउँदे बाली उम्रिनै नपाएको उनीहरुको भनाई छ । आशिंक सिचाई सुविधा भएको क्षेत्रका मानिसहरु भने थोरै भएपनि वर्षाले राहात पुगेको भन्दै खुसी भएका छन् ।

मौसमको प्रतिकुलताका कारण दार्चुला जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । सौर्य उर्जाबाट सञ्चालित टावरहरुमा शनिबारदेखि घाम नलागेर व्याट्रि चार्ज नभइ टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । टावरहरुसम्म विद्युतिकरण नहुदा दार्चुलामा पटकपटक सञ्चारसेवा अवरुद्ध हुने गरेको छ । फोन र इन्टरनेट सेवा अवरुद्ध भएपछि सम्पर्कविहिन हुनुपरेको लेकमका स्थानीय डम्बर भण्डारीले बताए । केहि दिन यता विद्युत सेवा समेत अनियमित हुँदा उपभोक्ताहरु समस्यामा परेको उनले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत