प्रेरणा

२०२० बाट शिक्षा लिनुहोस् : नराम्रा कुरा भूलेर २०२१ प्रवेश गर्नुहोस्, शुभकामना

काठमाडौँ । अंग्रेजी पात्रोनुसार आजबाट सन् २०२१ सुरु भएको छ । हामीले सकिएको वर्षबाट धेरै शिक्षा लिँदै आगामी दिन तय गर्नुपर्नेछ । अन्य कुराहरुसँगै सकिएको वर्ष कोभिडमय भयो विश्व । जन र धनको ठूलो क्षति भोग्नुपरेको छ । तर आशा गरौँ सन् २०२१ ले कोरोनालाई जित्नेछ र हामी पहिलेकै रफ्तारमा जीवन यापन गर्नेछौँ ।

हुन त न नेपाली न अंग्रेजी जुनसुकै पात्रोको पानामात्र पल्टिएको आभाष हुन कति कतिबेला । नयाँ वर्षले ल्याउने आशा र उमंगहरु यस पटक देखिएका छैनन् । कोभिड महामारी र त्यसको अन्त्यको गत्तिलो बाटो अहिलेसम्म देखा नपर्दापनि यो डर यथावत नै छ । देशको सन्दर्भमा भन्नुपर्दा राजनीतिक स्थीरता कायम भएर फड्को मार्छ भन्ने आशाहरु सबै पानीको भेलमा बगेका छन् । यसकारण पात्रोका पाना फेरिनु ठूलो कुरा होइन, सोनुसार सिक्नु र देश समृद्ध र वैज्ञानिक बनाउनु ठूलो कुरा हो ।

यसकारण अब त केहि सिक्ने हो कि ? प्रगति आत्मसात गर्ने हो कि ? देशलाई समृद्ध बनाउन पाइला चाल्ने हो कि ? कि अझैपनि पुरानै समाजमा पुर्याउने ? जहिल्यै गुफाकै यात्रा गराउने ? अनि जनताले व्यक्तिको लागि हर्लिक्स ख्वाइदिनुपर्ने ? आशा गरौँ अब यो अवस्था अन्त्य हुनेछ ।

सन् २०२० ले शिक्षा दिएको छ र अबचाहिँ विश्वलगायत नेपालले पनि सिक्नेछ । 

यसै प्रसंगमा यो रामायणको घटना मनन गरौँ ।

श्रीराम वनवास गइरहेका थिए । उनी सीता र लक्ष्मणसँग वनवासको लागि निस्किरहेका थिए । राम पछिल्ला नराम्रा कुराहरुलाई भूलेर अगाडि बढिरहेका थिए । उनको मनमा कैकेयी र मन्थरासँग पनि कुनै गलत कुरा थिएनन् ।

रामले यहाँ हामीलाई यो सम्झाइरहेका छन कि जुन कुरा बितेको छ, त्यसलाई विर्सनुपर्दछ र अगाडि बढ्नु पर्दछ । वनवासको समयमा उनको जीवनमा शूर्पणखा, ऋषिमुनी, शबरी आदि कयौँ व्यक्ति आएका थिए । सबैसँग रामले भेटेका थिए । यसले के शिक्षा दिन्छ भने वर्तमानमा राम्रो सँग जीउने । तर, वर्तमानसँगै भविश्यको पनि नजर भने राख्नै पर्दछ ।

आज हामी नयाँ वर्ष २०२१ मा प्रवेश गरेका छौँ । अघिल्लो वर्ष धेरै दुःखसँग बितेका छन् । यसकारण श्रीरामको यो सूत्र अपनाउनु जरुरी छ । कठिन अवस्थाबाट शिक्षा लिँदै भविश्यको यात्रा तय गर्नु पर्नेछ हामीले । तर बोझ राख्यौँ भने हामी पुनः लड्ने छौँ र गन्तब्य झनै टाढा बन्नेछ ।

स्वस्थ जीवन, स्वस्थ देश अनि स्वस्थ विश्व, शुभकामना २०२१ ।

गाउँ सहर संवाददाता

तपाईँको मत