गाउँ सहर

जंगलमा डढेलो, दुर्लभ वन्यजन्तु रेड पाण्डा सङ्कटमा

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा रहेको रेडपाण्डा (रातो हाब्रे) को चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि सङ्कटमा परेको छ । 

६ दिनदेखि शुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले बताएका छन् ।  डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आकलन गर्न नसकिने शेर्पाले बताए ।

पाथीभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान भएको रेडपाण्डा क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । रेडपाण्डाको बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे अहिले अनुमान गर्न नसकिएको राईले बताएका छन् । 

आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताएका छन् ।

हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेले बताएका छन् । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उनले बताए । 

काठमाडौँबाट सोमबार आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो निभेको छैन ।  आगलागीको कारण अझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास भइरहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत