दृष्‍टिकोण

आन्दोलनको उपहार — कोभिड-१९

काठमाडौँ । पछिल्लो समय देश तातेको छ राजनीतिले । नतातोस् पनि किन प्रधानमन्त्री र राष्ट्रपतिलाई अविश्वासको प्रस्ताव ल्याउने नै भएपछि प्रम ओली र राष्ट्रपति अस्त्र त फालिने नै भयो । अनि जागिर गएको रिसको झोँकमा सांसदहरु सडक जाम गर्दै कोभिड उपहार घरघरमा पुर्याइरहेका छन् ।

“जुन जोगी आएपनि कानै चिरेका” जो कोहिको मुखमा सुनिन्छ अहिले । राजा आउ देश बचाउ, हिन्दू राज्य कायम गर जस्ता नाराहरुले देश गुञ्जायमान भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडकमा निस्किएको छ । उता राजपा र राप्रपाले पनि सडक तताएकै छन् । माहाैल हेर्दा लाग्छ अहिले नै सबैकुरा हाेला जस्ताे छ ।

सबैले आ-आफ्नै कार्ड फाल्न व्यस्त छन् । कोरोना विर्सिइएको छ । तर कोरोनाको फरक रुप देश पसिसकेको आशंका गरिएको छ । यो विषम अवस्थामा सरकारले नै दलभित्रकै आन्तरिक झगडालाई संसद विघटनसम्म पुर्याइदिँदा सबैलाई कोरोना छैन भन्ने बनाइदिएका छन् । तर त्यसको रुप झनै विकारल बनेको छ । 

प्रतिशोधमा सडकमा आन्दोलन बढेका छन् । अहिले न सामाजिक दुरी छ न रोगबाट बच्न गत्तिला अस्पताल र उपकरण । खोप छैन, कामचलाउ खाेप ल्याउने टुंगाे छैन, उपचार छैन र पनि जनतालाई प्रदर्शनमा उतार्नुको पछाडि के कारण हो बुझ्न सकिएको छैन । के आन्दोलनमा चाहिँ कोरोना सर्दैन ? प्रतिरोधात्मक क्षमता बढ्ने हो ? पक्कै होइन रैपनि दलहरु नै यो महामारीलाई झनै विकराल अवस्थामा पुर्याउन खोजिरहेका छन् सरकारलाई कारण देखाउँदै ।

भिरबाट खस्न लागेको गोरुलाई रामरामको शैलीमा दलहरु पनि देखिएका छन् । अब्जस सबैले लिनैपर्छ । उसैपनि जनता यो महामारीमा परीक्षण गर्न जानै छाडेका छन्, मतलब स्पष्टै छ सरकारले कुनै व्यवस्थापन गर्न सकेको छैन । तर सरकार भनिरहेको छ कोरोना संक्रमितको दर घट्यो ।

नयाँ संविधान लेखेर गजक्क परेका नेता र जनताले बहुमतको सरकार बनाउँदा पनि देशमा यस्तो अवस्था आउँदो रहेछ । देश अर्काले चलाएको भन्नुपर्दो रहेछ । अब को आउँदा के नै हुन्छ ? कोहिसँग यसको उत्तर छ ? सबैले बल्ल बुझेका छन्— छैन । भनेपछि अब कसका लागि जनता लडिदिनुपर्ने ? के भाग नपाउनले पाउनको लागि ?

भोको पेटले केहि गर्न सकिँदैन, अब बुझ्नैपर्छ सबैले । कसैको सनकमा देश चल्नु र चलाउनु हुँदैन । निर्वाचनले के राहत दियो भनेर बहस गर्दै अबको विकल्प जनमतसंग्रहतर्फ जानुपर्ने विश्लेषकहरुले बताइरहेका छन् । किनकी कुरा गर्ने धेरै भए काम गर्ने कम । यहि अस्थिरताको शिकारले गर्दा देश झन अधोगतितर्फ गइरहेको अबपनि नबुझ्ने ? जसले जे भन्छ त्यतै जाने र गर्ने हो भने देश कदापी बन्न सक्दैन । अस्थिरताले जरा गाडिरहन्छ ।

चित्तबुझ्दो काम सरकारले गरेन, गफमात्र गरेको छ भन्नलाई कुनै दिन कुर्नु नपर्ला । पछिल्ला घटनाक्रमले नै छताछुल्ल पारेका छन् । तर यसो भन्दैमा यो महामारीमा भिड जम्मा गर्नुपनि नगर्नेकै शिको गर्नु हो । रोग झन भयाभह हुने संकेत हो । यसकारण चित्त नबुझेको कुरालाई भिडै जम्मा गर्दा पाउने भन्ने र ठूलो स्वर गर्दा पाइन्छ भन्नेतर्फ नलागौँ । पहिलो उपचार भनेको जोगिनु नै हो । आन्दोलनमा पुगेर सेल्फी हान्दा ठिकै होला तर घर पुगेपछि र पछि उपचार नपाएर छट्पटाउनुपर्यो भने कुनै नेता तथा कार्यकर्ता तपाईंको घरमा आउने छैनन् । फेसबुकको भित्तामा रिप वा शिघ्र स्वास्थ्यलाभको कामना गर्छन् जुन तपाईं हामीले हेर्न पाउँछौँ या पाउँदैनौँ टुंगो छैन ।

यसकारण उखानै सहि, हुलमुलमा जिउ जोगाउनु नै उपयुक्त हुन सक्छ । धेरै भिडभाड हुने स्थल र कर्म अझै नजाउँ । दया, माया त ज्यान रहेपछि प्राप्त गरौँला, ज्यानै नरहे के को व्यवस्था अनि के को मोटो रकम र नियुक्ति । अवस्था सहज हुँदा पाता कस्ने त तपाईं हामी नै हौँ नि हैन !

गाउँ सहर डेस्क

तपाईँको मत