समाज

ब्राउन सुगरसहित सासू–बुहारी पक्राउ 

सुर्खेत । प्रहरीले ब्राउन सुगरसहित सासू–बुहारीलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंह रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । 

मंगलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् । 

“विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलासी गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो”, उनले भने, “सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।” 

लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको २१ हजार ५०० नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताएका छन् । 

पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

गाउँ सहर डेस्क

तपाईँको मत