प्रेरणा

मृत्यु निश्चित छ, डराउने होइन बुझ्नु जरुरी

काठमाडौँ । जसले जति अर्ति दिएपनि मृत्युसँग सबैलाई डर लाग्छ । अरुको मृत्यु देख्दा आफू कहाँ मर्छु र भन्ने पनि हुन्छ । तर शाश्वत नियम हो मृत्यु । सबैले एकदिन मर्नै पर्छ । 

यसै प्रसंगमा महाभारतबाट केहि कुरा मनन गरौँ ।

महाभारतमा पाण्डव वनवास गइरहेका थिए । एकदिन घुमेर थाकेपछि आराम गर्नको लागि एकठाउँ रोकिए । सबैलाई प्यास लागिरहेको थियो । युधिष्ठिरले चार भाईलाई एकएक गर्दै पानीको व्यवस्था गर्न पठाए ।

तर चारै भाई फर्केनन् आफैँ भाई खोज्न गए ।

केहि पर पुगेपछि एक सरोवर देखियो । सरोवरको किनारमा भीम, अर्जुन, नकुल र सहदेव मुर्छित अवस्थामा लडेका थिए । युधिष्ठिर सरोवरतर्फ अगाडि बढे त्यहाँ एक यक्ष प्रकट भए । यक्षले भने- यदि तिमी मेरो सरोवरको पानी पिउन चाहन्छौ भने मेरोप्रश्नको उत्तर दिनु पर्छ । तिम्रो भाईहरुले मेरो कुरा मानेनन् र बिना उत्तर पानी पिए र यस्तो दशा भयो । यदि तिमी मेरो प्रश्नको उत्तर दिन्छौ भने चारै भाई पनि पुनः जीवित हुन्छन् ।

यक्षले कठिन प्रश्न सोधे । युधिष्ठिरले सबै प्रश्नको जवाफ धैर्यताका साथ दिए । यक्षले अन्तिम प्रश्न सोधे- संसारमा आश्चर्य के छ ?

युधिष्ठिरले उत्तर दिए- दैनिक मानिसहरु मर्छन्, सबैले देख्छन् । तर पनि मानिसहरु मृत्युलाई बुझ्दैनन्, यसबाट बच्न खोज्छन् । एकदिन सबैलाई मर्नु नै छ । मलाई सबैभन्दा आश्चर्यजनक घटना यहि लाग्छ कि सबैलाई मरेको देखेर पनि मानिसले मर्नुपर्छ भन्ने बुझेनन्, योबाट डराउनुहुन्न भन्ने बुझेनन् ।

यक्ष युधिष्ठिरको उत्तरबाट सन्तुष्ट भए र चारै भाईलाई जीवित गरिदिए ।

यसकारण हामीले जीवन जिउने नै हो तर मृत्युसँग डराएर होइन । यसलाई बुझ्नुपर्छ एकदिन सबैको मृत्यु हुने नै हो । यो अटल सत्य छ ।

गाउँ सहर डेस्क

तपाईँको मत