स्वास्थ्य

कोरोनाको नयाँ स्वरुप साउदी अरेबीयामा देखियो, हवाई उडान स्थगित

एजेन्सी । कोरोनाको नयाँ स्वरुप साउदीमा पनि देखिएको छ । पहिलोपटक बेलायतमा देखा परेको कोरोना संक्रमणको नयाँ स्वरुप मध्य पूर्वी देशहरुमा पनि देखिन थालेको छ । युरोपका ८ भन्दा बढी देशमा पुष्टि भइसकेको कोरोनाको नयाँ स्वरुपबारे अध्ययन भइरहेको जनाएका बेला साउदीमा पनि यो संक्रमण देखिएको बताइएको छ । यससँगै साउदी अरेबियाले व्यावसायिक यात्रुबाहेक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको जनाएको छ ।

साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने जनाएका छन् । साउदी सरकारले साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरेको छ ।

साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुबाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोनाभाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमिन र समुद्री मार्ग पनि बन्द गरेका छन् । ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात २ दिन प्रतिबन्धहरु फुकुवा गर्ने बताएका छन् ।

साउदी अरेबियामा हालसम्म ३ लाख ६२ हजार व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ । यहाँ ६ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । अरब राष्ट्रहरुमध्ये साउदी अरेबियामा सबैभन्दा बढीको मृत्यु भएको एजेन्सीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत