कृषि

बङ्गलादेशबाट जिटुजी मार्फत मल ल्याउने तयारी अन्तिम चरणमा, ढुवानी सम्झौता सम्पन्न

ढाका। बङ्गलादेशबाट पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोले लगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको शुरुआत हुनेछ । कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया शुरु गरिसकेकाले अर्को हप्ताबाट मल ढुवानी थालिने बङ्गलादेशस्थित नेपाली राजदूत डा. वंशीधर मिश्रले जानकारी दिएका छन् ।

सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी शुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ । मल भित्र्याउँदा प्रतिमेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर लाग्ने जनाइएको छ । यो हाल आयात भइरहेको मलको तुलनामा प्रतिमेट्रिकटन झण्डै साढे १८ डलरको दरले सस्तो हो । “विश्वकै उच्च गुणस्तरीय मल यसरी नेपाल जाँदा ५० हजार मेट्रिकटनमा झण्डै रु १० करोड नेपाली रुपैयाँ बचत हुन्छ”, उनले भने ।

बङ्गलादेशमा हरेक वर्ष २५ लाख मेट्रिकटन मल खपत हुन्छ । यहाँ १० लाख मेट्रिक टन आफैँले उत्पादन गरे पनि १५ लाख मेट्रिकटन आयात हुँदै आएको छ । त्यसैले बङ्गलादेशले मल बिक्री गर्ने भन्ने कुरा हुँदैन । नेपाललाई ५० हजार मेट्रिकटन मल चाँहिने कुरा बङ्गलादेशका लागि सानो परिमाण हो । त्यसैले नेपालले गरेको कूटनीतिक पहललाई बङ्गलादेशले सहर्ष स्वीकार गरेको जनाइएको छ ।

मल निर्यात गर्ने नीति बङ्गलादेशको छैन । यसका लागि माथिल्लो तहको निर्णय चाहिने हँुदा प्रधानमन्त्री तहमा कुरा भयो भने मल ढुवानीको काम सम्भव छ भनेर सुझाव आएपछि त्यहीअनुसार पहल गरेको राजदूत डा. मिश्रले जानकारी दिए । प्रतितपत्र खोलेर सरकारले ल्याउन सक्ने भन्ने कुरा भएपछि त्यही किसिमले गत कात्तिक २४ गते मन्त्रिपरिषद्ले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई मल ल्याउन स्वीकृति दिने निर्णय गरेको थियो ।

त्यही निर्णयअनुसार हालै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहितको टोली बङ्गलादेश आएर यहाँको विसिआइसीका हालका कार्यवाहक अध्यक्ष महम्मद एमिन उल अहसन नेतृत्वको टोलीसँग यही डिसेम्बर १७ ९पुस २० गते सरकार¬सरकार बीच (जिटुजी) मार्फत मल ल्याउने गरी सम्झौता भएको थियो ।

सम्झौता हुँदा बङ्गलादेशका उद्योग सचिव के आजाम र बङ्गलादेशस्थित नेपाली राजदूत डा मिश्रको उपस्थिति रहेको थियो । उक्त सहमति गत बुधबारको मन्त्रिपरिषद्लेसमेत अनुमोदन गरिसकेको छ ।

बङ्गलादेशमा मल उत्पादन गर्ने कम्पनी कर्णफूली फर्टिलाइजर कम्पनी (काफ्को) रहेको छ । यो बङ्गलादेशको सरकारको ४४ र जापानको १० प्रतिशतलगायत विभिन्न देशको शेयर रहेको कम्पनी अर्धसरकारी हो । यसले विश्वकै उच्च गुणस्तरको मल उत्पादन गर्दै आएको छ ।

जेन्ट्रेडसँग ढुवानी सम्झौता

नेपालले संयुक्त अरब इमिरेट (युएई) को जेन्ट्रेडसँग ढुवानीको सम्झौता गरिसकेको छ । त्यसले प्रति मेट्रिक टन ८२ डलरमा ढुवानी गर्ने सहमति गरेको छ । यसले भैरहवा, वीरगञ्ज, विराटनगरलगायत क्षेत्रमा ढुवानी गर्नेगरी सहमति गरेको उनले बताएका छन् । “एउटै माध्यममा ढुवानी गर भनेको छैन, विभिन्न माध्यामको प्रयोग गर्न छुट छ”, उनले भने, “कर्णफूलीबाट ठूलो जहाजमा लैजान्छ, त्यसपछि सानो जहाजमा नुवापारामा पु-याउँछ  रेलमार्फत भारतबाट वीरगञ्ज र विराटनगरमा पु¥याउँछ, भैरहवाका लागि सुनौलीसम्म रेल र त्यसपछि ट्रकमा लैजाने गरी सबै ढुवानी माध्यम खुला गरिएको छ ।”

सहजरुपमा ढुवानी होस् भन्ने उद्देश्यले सबै सम्झौता हुँदा ठेकेदारलाई सहभागी गराइएकाले ढुवानीमा समस्या नहुने उनले विश्वास व्यक्त गरे । पहिलो पटक जहाजमा मल राखेको दुई महिनाभित्रमा ढुवानी गरिसक्नुपर्नेछ । एलसी (लेट अफ क्रेडिट) खोलेको १० दिनभित्र ढुवानी शुरु गर्नुपर्ने हुन्छ । सामानका रुपमा बैंकले पैसा पठाउने प्रक्रिया एसली हो । नेपाल सरकारले आइतबार एसलीका लागि प्रक्रिया शुरु गरेकाले यही हप्तामा एलसी खुल्ने उनले बताएका छन् ।  त्यसपछि ढुवानीको प्रक्रिया सुरु हुने भएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत