कृषि

जाजरकोटको मकै देशका ठूला शहरमा

जाजरकोट । वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । 

जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो । अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिक रूपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला शहरमा बिक्री भइरहेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिएका छन् । 

गाउँबाट प्रतिपाथी १०० रुपैयाँमा बिक्री भइरहेको उनको भनाइ छ । चार वर्षदेखि मकैको बीउ उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाउन लागेको कृषि शाखाले छिटो समयमै तीव्ररूपमा काम हुँदा अहिले जिल्ला बाहिर बिक्रीका लागि पठाउन सुरु गरेको हो । भेरी नगरपालिका–७ रुपाकोट, चौरटोलमा १० हेक्टर जमिनमा मकैको बीउ उत्पादन कार्य बर्सेनि हुँदै आएको छ । नगरपालिकाभित्र बाहिरबाट बीउ ल्याएर मकै लगाउनुपर्ने अवस्था अन्त्य भएको कृषकले बताएका छन् ।

मकैको बीउलाई किराबाट जोगाउनका लागि मकै उत्पादन भण्डारण केन्द्र स्थापना गरी कामसमेत भइरहेको छ । विद्युत् र सडकमा सहज पहुँच छिटो बनाउन केन्द्रका स्थानीयवासीले माग गरेका छन् । रुपाकोटमा लेभलिङ, प्याकेजिङ र ग्रेडिङको काम सुरु भएको प्रमुख अधिकारीले जानकारी दिएका छन् ।

जिल्लाको नलगाड नगरपालिका–५ रघुनाथलाई मकैको पकेट क्षेत्रका रूपमा अगाडि बढाइएको छ । यस वर्ष नयाँ ठाउँमा विस्तार अभियानमा रहेको कृषि शाखाका बालकृष्ण आचार्यले बताए । नलगाडबाट मात्र वर्षेनी ७०० क्विन्टलभन्दा बढी मकै बाहिरी जिल्लामा बिक्री हुने गरेको छ । लहँ, हल्चौर र डाँडागाउँमा बढी मकै उत्पादन गर्दै आएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत