समाज

श्रीमानले गरे श्रीमतीको हत्या

पाँचथर । श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

गए राती करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो । घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान रहेको छ । मृतकका दुई छोरा छन् । 

यस सम्बन्धमा थप  अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत