अर्थतन्त्र

एसियाली विकास बैङ्कद्वारा गौतमबुद्ध विमानस्थललाई अठार अर्ब ऋण 

काठमाडौँ । एसियाली विकास बैङ्कले गौतमबुद्ध विमानस्थललाई थप अठार अर्ब ऋण लगानी गर्ने भएको छ । निर्माणको अन्तिम अवस्थामा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी) ले थप करिब पौने १८ अर्ब रुपियाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी गर्ने भएको हो । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दक्षिण एसियाली उपक्षेत्रीय सहकार्य (सासेक) अन्तर्गतको विमानस्थल क्षमता अभिवृद्धि परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने सम्झौतामा उल्लेख गरिएको छ । सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीको नेपालका लागि आवासीय इन्चार्ज रुडी लुई हेन्ड्रिकुस भान डेलले हस्ताक्षर गरेका हुन् ।

एडीबीले उपलब्ध गराउने उक्त ऋण उक्त विमानस्थलको दोस्रो चरणको विस्तारको डिजाइन र टर्मिनल भवन निर्माणमा उपयोग हुने सम्झौता छ । त्यस्तै ट्याक्सी वे विस्तार, एप्रोन निर्माणका लागिसमेत ऋण उपलब्ध गराएको एडीबीले जनाएको छ ।

एडीबीले यसअघि नै विमानस्थलको पहिलो चरणको कामका लागि करिब साढे दुई अर्ब ऋण उपलब्ध गराइसकेको छ । विमानस्थल निर्माणको अहिलेसम्म करिब ९३ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ । यस्तै बाढी जोखिम व्यवस्थापनका लागि एडीबीले करिब पौने अर्ब सहुलियतपूर्ण ऋण (चार करोड डलर) र करिब सवा अर्ब (एक करोड डलर) अनुदान पनि उपलब्ध गराउने सम्झौतामा गरिएको उल्लेख छ । बाढीको जोखिम नियन्त्रणका लागि पूर्वाधार निर्माण गर्ने, बाढीको आकलन गर्ने क्षमता बढाउने र बाढीपूर्वको तयारीका लागि उपयोग हुने बताइएको छ ।

सम्झौतापछि मन्त्रालयका सहसचिव नेपालले यस्ता आयोजनाको कार्यान्वयनले नेपालको हवाई क्षमता बढाउने र बाढी सुरक्षाको पूर्वाधार निर्माण गरेर राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउने समेत बताए । ऋण सम्झौता अबको तीन महिनापछि प्रभावकारी हुनेछ उनले भने ।

गाउँ सहर डेस्क

तपाईँको मत